aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मधेसमा पानीको हाहाकारः गाईबस्तु होईन्, उट पाल्नुपर्ने अवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ जेठ २०७६
मधेसमा पानीको हाहाकारः गाईबस्तु होईन्, उट पाल्नुपर्ने अवस्था

काठमाडौं । यतिबेला जनकपुर र महोत्तरीका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन्। चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउँछ। तर, घाम उदाएपछि सुक्छ।

‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो। अहिले १ सय फिट गाड्दा पनि पिउनयोग्य पानी भेटिँदैन’, जनकपुरका वरिष्ठ पत्रकार विष्णुमणि खनालले अनुभव सुनाए, ‘पानी आइहाले पनि सुक्खामौसममा सुकेर जान्छ।’

पानी अभाव हुनुमा चुरे विनाश मुख्य कारण रहेको उनको ठम्याइ छ। उनी भन्छन्, ‘तराईमधेसको चुरे जंगललाई जोगाउन नसके भित्री तराईमधेस मरुभूमिमा परिणत हुन्छ, अनि हामीले गाईभैंसी पाल्न छोडेर उँट पाल्नुपर्नेछ।’

धनुषाको पूर्वपश्चिम राजमार्गमा पाँचवर्ष पहिले ५०–६० फिटमा पानीको सतह पाइन्थ्यो। अहिले सोही स्थानमा १०० फिटमा समेत पानी भेट्टाउन मुस्किल हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जलेश्वरका इन्जिनियर विजय यादव बताउँछन्। ‘वैज्ञानिक कारण त अनुसन्धानबाट पत्ता लाग्ने विषय हो। सरसर्ती हेर्दा पानी रिजर्भ नभएका कारण सतह तल गएको देखिन्छ।’

खानेपानी कार्यालय जनकपुरका प्रमुख विनोद मिश्रका अनुसार चुरे विनाशले पानीको सतह घट्दै गएको हो। उनले भने, ‘चुरे क्षेत्रको जलाधार क्षेत्र धमाधम पुरिँदै जाँदा पानीको सतह घट्न गई हाहाकार मच्चिन लागेको हो।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ । 
 

प्रतिक्रिया दिनुहोस