aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रधानमन्त्री कप क्रिकेटले ठग्योः मोटरसाइलक पाउनुपर्ने खेलाडीले ५० हजार पाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ जेठ २०७६
प्रधानमन्त्री कप क्रिकेटले ठग्योः मोटरसाइलक पाउनुपर्ने खेलाडीले ५० हजार पाए

काठमाडौं । सरकारले नै आयोजना गरेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पुरस्कारमा खेलाडी ठगिएका छन् । मोटरसाइकल पाउनुपर्ने खेलाडीले ५० हजार र ५० हजार पाउनुपर्ने खेलाडीले ३० हजार मात्रै पुरस्कार पाएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार घोषणा गरिएको थियो । तर, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट घोषित नेपाल पुलिसका खेलाडी ललितनारायण राजवंशीलाई शनिबार नगद ५० हजार दिएर टारिएको छ ।

त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५० हजार नगद घोषणा गरेकोमा ३० हजारले मात्रै पुरस्कृत गरियो । उत्कृष्ट बलर राजवंशी नै भएका हुन् भने उत्कृष्ट ब्याट्सम्यान त्रिभुवन आर्मीका राजु रिजाल हुन् ।

उनीहरूलाई शनिबार खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले नै पुरस्कृत गरेका थिए । जब कि व्यवस्थापक नेपालय इन्टरनेसनलले प्रतियोगिता सुरु हुनुअघि २ जेठमा पत्रकार सम्मेलन गर्दै विज्ञप्ति नै निकालेर पुरस्कार घोषणा गरेको थियो ।

यसबारे जानकार मन्त्री विश्वकर्मा र सदस्यसचिव विष्ट शनिबार खेलाडीलाई पुरस्कृत गर्दा थाहा नभएजस्तो गरे । १० जेठदेखि शनिबारसम्म मूलपानी र कीर्तिपुर क्रिकेट मैदानमा प्रतियोगिताका खेलहरू भएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 
 

प्रतिक्रिया दिनुहोस