
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड-१९ को उपचार भइरहेको अस्पताल बाहिर उपस्थित समर्थकहरूलाई एक छिन मोटरमा घुम्दै अचम्ममा पारिदिएका छन्। आफूले 'आश्चर्यजनक भ्रमण' गर्ने भनि ट्वीट गरेको केही क्षणमै उनी कारभित्र मास्क लगाएर हात हल्लाउँदै गरेको देखिए।
महामारी नियन्त्रण गर्ने नीतिलाई लिएर आलोचित हुँदै आएका ट्रम्पले भाइरसबाट आफूले धेरै सिकेको पनि बताए। यसअघि उनका डाक्टरहरूले ट्रम्पको स्वास्थ्यमा सुधार हुने क्रम जारी रहेको र सोमवार अस्पतालबाट फर्किन सक्ने जानकारी दिएका थिए।
डा. सीन कोन्लीका अनुसार ट्रम्प सङ्क्रमित भएपछि दुई पटक अक्सिजनको मात्रा घटेको र डेक्सामेथासोन नामको स्टेरोइड दिइएको थियो।
वाल्टर रीड न्याश्नल मिलिटरी मेडिकल सेन्टर पत्रकार सम्मेलनमा डा. कोन्लीले ट्रम्पलाई कोरोनाभाइरस पोजेटिभ देखिएयता दुई पटक अक्सिजनको मात्रा तल झरेको बताएको बीबीसीले उल्लेख गरेको छ । उनका अनुसार पहिलो पटक ह्वाइट हाउसमै त्यसो भएको थियो, जब राष्ट्रपतिलाई उच्च ज्वरो आएको थियो। त्यसबेला उनको अक्सिजनको मात्रा ९४ प्रतिशतमा झरेको थियो। जबकी स्वस्थ मान्छेमा त्यो ९५ प्रतिशत वा त्योभन्दा बढी हुन्छ।
उनले राष्ट्रपतिलाई करिब एक घन्टा अतिरिक्त अक्सिजन दिइएको र त्यसपछि साँझ वाल्टर रीड लगिएको जानकारी दिए। अमेरिकी सञ्चार माध्यमहरूमा व्यापक रूपमा समाचार आइसकेका थिए र डा. कोन्लीले शनिवार बिभिन्न प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेका थिए।
दोस्रो पटक शनिवार अक्सिजनको मात्रा ९३ प्रतिशतभन्दा तल झरेपछि उनलाई प्रश्न गरियो। र राष्ट्रपतिलाई अक्सिजन दिए-नदिएकोबारे उनले केहि बताएनन्। तर 'त्यसो गरिएको भए त्यो निकै सीमित भएको' जवाफ दिए।
उनले चिकित्सकहरूको समूहले राष्ट्रपति ट्रम्पलाई डेक्सामेथासोन दिने निर्णय गरेको बताए। अध्ययनहरूमा उक्त औषधी अस्पताल भर्ना भएका कोभिड-१९ का गम्भीर बिरामीको स्वास्थ्यमा सुधार ल्याउन दिने गरेको देखिएको छ।
प्रतिक्रिया दिनुहोस