
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा नयाँ वाइडबडी जहाज भित्र्याएको १ वर्षपछि पाएको नयाँ अन्तर्राष्ट्रिय गन्तव्यको जापान उडान स्थगित भएको छ । निगमले आगामी असार १९ गतेदेखि तय गरेको जापानको ओसाका उडान करिब २ महिना पर सारेर अब भदौ १२ देखि मात्रै गर्ने भएको छ । निगमले उडान मिति तय गरेर यात्रु बुकिङ नभएको बहानामा जापान उडान एक महिना २६ दिन पर धकेलेको हो ।
जापान उडानको बुकिङ खुला गरेको ३ सातापछि बुकिङ नै कम भएको र जापान जाने आउने नेपालीको निम्ति अफ सिजनसमेत भएकाले पनि तय भइसकेको उडान स्थगित गर्नुपरेको वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।
उनका अनुसार सुरुवाती उडान भएकाले सकेसम्म नाफा हुने गरी गर्नुपर्ने हुन्छ। यसका निम्ति करिब २ महिना सार्दा जापानी पर्यटक र नेपालीको आवतजावतको सिजन हुने खरेलको बुझाइ छ। ‘नयाँ उडान तालिका अनुसार निगमले अपेक्षाअनुसार नाफा गर्न सकेन भने पनि धेरै घाटा खानु पर्दैन भन्ने निष्कर्ष निकालिएको हो’, खरेलले भने।
निगमले असार १९ को लागि खुला गरेको टिकेट बुकिङ भने निकै अपेक्षाभन्दा निकै कम आएको छ। अहिले जापानको निम्ति अफ सिजन हो भन्ने थाहा पाउँदापाउँदै घाटा नै हुने गरी किन उडान गर्नु भनेर भदौ १२ सम्मलाई स्थगित गरेको पनि खरेलले बताए।
‘हामीले उडान केन्द्रित गर्ने भनेको जापानमा रहेका नेपालीकै आवतजावतमा हो। अहिले वर्षा सिजन लागेको र मध्य वर्षात्को मौसममा नेपालीको मुभमेन्ट कम हुन्छ। वर्षा सकिए पनि दसैंको माहोल सुरु हुने र नेपालीको चहलपहल पनि बढी हुने विषयलाई दृष्टिगत गरेर काठमाडौं जापान उडान गर्न लागिएको पनि खरेलको भनाइ छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस