aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नक्कली ज्वाइँले ४२ लाख ठगे, छोरी अमेरिका जान पाइनन र घरबार पनि भएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ बैशाख २०७६
नक्कली ज्वाइँले ४२ लाख ठगे, छोरी अमेरिका जान पाइनन र घरबार पनि भएन


काठमाडौं, बैशाख ६ । विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको  छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनलाई तीन महिनाको प्रयासपछि पक्राउ गरिएको हो । उनले काठमाडौंकी १२ कक्षामा अध्ययनरत एक किशोरीलाई विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा ४२ लाख रुपैयाँ असुलेका थिए । प्रहरीका अनुसार छोरी अमेरिका जाने प्रलोभनमा परेपछि अभिभावकले घर बैंकमा राखेर ४२ लाख रुपैयाँ जुटाएका थिए । रकम लिएर खड्का गायब भएपछि मात्रै किशोरी र उनका अभिभावकले ठगिएको महसुस गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा पारी किशोरी र उनका अभिभावकलाई घर न घाटको बनाएको बताए । उनले भने, ‘यसले किशोरीसँग विवाह गर्छु भन्यो । अमेरिकाबाट भर्खरै आएको भनेपछि किशोरी पनि लोभिइन् । किशोरीले अभिभावकसँग छलफल गरिन् । विवाहपछि छोरी अमेरिका जाने भएपछि अभिभावक पनि मक्खै परे । यही क्रममा खड्काले किशोरीका अभिभावकसँग ४२ लाख रुपैयाँ माग्यो । घर बैंकमा राखेर रकम झिके । रकम पाएपछि हुनेवाला ज्वाइँ (खड्का) बेपत्ता भए, बल्ल आफू ठगिएको भेउ पाए ।’

रकम लिएलगत्तै बेपत्ता
प्रहरीका अनुसार खड्काले किशोरीलाई साथीको विवाहमा भेटेका थिए । सामान्य परिचयका क्रममा खड्काले किशोरीलाई ‘भर्खर अमेरिकाबाट आएको’ भने । किशोरी नजिकिइन् । खड्काले गफ दिँदै गए । टेलिफोन नम्बर साटासाटपछि उनीहरू छुटिए । त्यसपछि सामाजिक सञ्जालमार्फत नजिकिन थाले । टेलिफोनमा गफ हुन थाल्यो । खड्का किशोरीको घरमा पुगे । उनी किशोरीकी आमासँग नजिकिन थाले ।

केही सातापछि उनले किशोरीसँग विवाहको प्रस्ताव राखे । अमेरिका जाने प्रलोभनमा किशोरी ऊसँग विवाह गर्न राजी भइन् । अभिभावकसँग पनि किशोरीले विवाहको कुरा गरिन् । छोरी अमेरिका जाने भएपछि  अभिभावक पनि राजी भए । त्यसवेलासम्म किशोरी खड्काको मायाजालमा चुर्लुम्म डुबेकी थिइन् ।’ नयाँ पत्रिका दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस