
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिपषदमा रिक्त तीन सदस्यको पूर्ति, अन्य हेरफेर र संवैधानिक निकायका रिक्त पदमा नियुक्तिबारे छलफल भएको छ । अध्यक्ष ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गृहकार्य जारी रहेकाले मंगलबार बैठकमा त्यसबारे सामान्य मात्रै छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि यही असोज ६ गतेको बैठकले संविधान र कानूनबमोजिम छिटो नियुक्ति प्रक्रिया अघि बढाउनका लागि पहल गर्न सरकारलाई आग्रह गरेको थियो । ती नियुक्तिका लागि पहल गर्न र सम्बन्धित पक्षलाई पनि सहयोग गर्न आग्रह गरेको बैठकले आन्तरिक सहमतिका साथ गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको कार्यादेशबमोजिम सरकार र पार्टीका कामलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने सङ्कल्प पनि गरेको उनले बताए ।
यसअघि यही असोज ४ गतेको सचिवालय बैठकमा सङ्घीय मन्त्रिपरिषद्का मन्त्रीहरुको हेरफेरका नीतिगत आधारबारे छलफल भएको थियो । सोही बैठकले एकताका बाँकी कामलाई पूर्णता दिन अध्यक्ष ओली र दाहालले १० दिनभित्र गृहकार्य गरी सचिवालयमा पेश गर्ने निर्णय पनि गरेकामा यसबीचमा तय भई दुई पटकसम्म सचिवालयका बैठक स्थगन भएका छन् ।
भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएपछि विवाद टुङ्गिएको थियो । स्थायी कमिटीको सो बैठकले अध्यक्ष ओली सरकारका काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टीको काममा केन्द्रित भई कार्यकारी अध्यक्षका भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो ।
नेकपाले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तथा सोको तयारीका लागि आगामी कात्तिक १५ देखि १७ सम्म केन्द्रीय कमिटीको बैठक पनि तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस