काठमाडौं । नेपालमा मानसिक स्वास्थ्य समस्या वयस्कमा बढी देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार नेपालका ४।३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या छ । परिषद्ले मानसिक स्वास्थ्य सर्भेक्षणबाट यस्तो नतिजा देखिएको हो । सर्भेक्षणले १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्यामा रहेको देखाएको छ ।
परिषद्ले सन् २०१९ देखि सन् २०२० सम्म गरेको मानसिक स्वास्थ्य सर्भेक्षणको नतिजाले यस्तो देखाएको हो । परिषद्का सदस्यसचिव डा। प्रदीप ज्ञवालीले सर्भेक्षणमा सातवटै प्रदेशका १५ हजार ८८ जना रहेका सहभागीमध्ये नौ हजार दुई सय जना १८ वर्षमाथिका वयस्क भएको बताउनुभयो । यस्तै सर्भेक्षणमा पाँच हजार ८८८ जना भने १३ देखि १७ वर्षसम्मका किशोरकिशोरी छन् । उनले वयस्कलाई अझ बढी परामर्शको जरुरी परेको तथ्याङ्कले देखाएको बताए ।
डा. ज्ञवालीका अनुसार तीन प्रतिशत वयस्कमा उदासीनताको समस्या देखिएको पाइएको छ । यस्तै ६.५ प्रतिशत वयस्कमा हालको अवस्थामा आत्महत्याको सोच रहेको र १.१ प्रतिशत वयस्कले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ ।
परिषद्का अनुसार ४.२ प्रतिशत वयस्कमा मादक पदार्थ सेवन गरेको कारण र शून्य दशमलव दुई प्रतिशत वयस्कमा मादक पदार्थबाहेक अन्य कुनै प्रकारका नसालु पदार्थ सेवन गरेका कारण मानसिक स्वास्थ्य समस्या भएको पाइएको थियो । यस्तै ४० देखि ४९ वर्ष उमेर समूहका ६.३ प्रतिशत वयस्कमा यस्तो समस्या भएकोसमेत देखिएको छ । कोसिसका अध्यक्ष मातृका देवकोटाले सरकारले मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्न नसकेको बताए । उनले २०५३ सालमा मानसिक स्वास्थ्यसम्बन्धी छुट्टै महाशाखा राख्ने निर्णय हालसम्म पनि कार्यान्वयनमा आउन नसकेको गुनासो गरे ।
विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि शनिबार विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइयो । कोरोना भाइरसका कारण मनोचिकित्सा परामर्श जरुरी भइरहेका बेला दिवस मनाइएको हो ।
यो पटकको दिवसको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य, पर्याप्त लगानी, सबैलाई पहुँच, एकै ठाउँमा सबै जनालाई’ भन्ने थियो । नेपालमा वयस्कलाई अझ बढी मनोपरामर्श जरुरी भएको विज्ञहरूको भनाइ रहँदै आएको छ । नेपालमा मानसिक स्वास्थ्य भार १४ प्रतिशत रहे पनि मानसिक स्वास्थ्य क्षेत्रमा कुल बजेट भने एक प्रतिशतभन्दा कम छ । नेपाल प्रहरीको प्रतिवेदन अनुसार गत वर्ष मात्र नेपालमा छ हजार २७९ जनाले आत्महत्या गरेका थिए ।
यसैबीच मानवीय सेवासँगै मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको क्षेत्रमा लगानी बढाउनुपर्ने विज्ञहरूले जोड दिएका छन् । म्यानमारमा कार्यरत डा. युवराज अधिकारीले नेपालमा कोभिड प्रतिकार्यमा अग्रपङ्क्तिमा संलग्न ७० प्रतिशत चिकित्सक तथा स्वयंसेवकमा कुनै न कुनै प्रकारका मानसिक र मनोवैज्ञानिक समस्या देखिएको बताए । उनले भने, कोभिडपछि मानसिक स्वास्थ्य समस्या बढ्दो छ तर त्यस क्षेत्रमा लगानी आधा घटेकाले नीति निर्माता अत्यन्तै गम्भीर हुनुपर्ने अवस्था छ ।
प्रतिक्रिया दिनुहोस