aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

नगद रित्तियो, सरकार सुरुमै ऋण लिन बाध्य

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • आइतबार, २५ असोज २०७७
नगद रित्तियो, सरकार सुरुमै ऋण लिन बाध्य

काठमाडौं । कोरोना महामारीले राजस्व आम्दानी घटाएको बेला पर्वको महिना असोजमा ठुलो खर्च भए पछि सरकारको नगद रित्तिएको छ। राजस्वसहितको नगद पुरै सकिए पछि सरकार वर्षको सुरुमै आन्तरिक ऋण लिन बाध्य भएको छ। गत वर्ष तेस्रो चौमासिक तिर मात्र ऋण उठाइएको थियो।

भदौ मसान्तसम्म राजस्वसहितको आम्दानी १ खर्ब १६ अर्ब र खर्च ७० अर्ब भएकाले सरकार ४६ अर्ब रुपैयाँ नगद बचतमा थियो। तर, असोजका २३ दिनमै थप ९५ अर्ब रुपैयाँ खर्च भए पछि सरकारको नगद पुरै रित्तिएको हो। असोज २३ मा आइपुग्दा राजस्वसहितको कुल आम्दानी एक खर्ब ६५ अर्ब ७२ करोड भएको छ भने खर्च एक खर्व ६५ अर्ब ८३ करोड हुन पुगेको छ।

आर्थिक वर्षका १२ महिनामध्ये सबैभन्दा बढी चालु खर्च हुने असोजमा हो। निजामती, शिक्षक, सुरक्षाकर्मीलगायतका सबै कर्मचारी र पेन्सन पाउने पूर्व कर्मचारीलाई असोजमा दुई महिना बराबरको तलब सुविधा दिनुपर्छ।

यस्तै सामाजिक सुरक्षा भत्ताको पहिलो किस्ता पनि यही महिनामा वितरण गरिन्छ। गत वर्षकोे पुँजीगत खर्चको बाँकी भुक्तानी सकेसम्म यही बेला दिने गरी तालिका बनाइन्छ।

एकै महिनामा धेरै किसिमका खर्च व्यहोर्नु पर्ने तर, त्यही अनुसार राजस्व संकलन नहुने भए पछि सरकारलाई नगद व्यवस्थापनमा दवाव परेको हो। असोज १५ पछि चालु खर्च मात्र दैनिक औषतमा ५ अर्ब भन्दा बढी भइरहेको छ। राजस्व भने औषतमा दुई अर्ब मात्र छ।

प्रतिक्रिया दिनुहोस