aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
पोखरा विश्वविद्यालय, परीक्षा दिन पाउनुपर्ने माग गर्दै विद्यार्थी आन्दोलित

पोखरा विश्वविद्यालय, परीक्षा दिन पाउनुपर्ने माग गर्दै विद्यार्थी आन्दोलित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ बैशाख २०७६
पोखरा विश्वविद्यालय, परीक्षा दिन पाउनुपर्ने माग गर्दै विद्यार्थी आन्दोलित


काठमाडौं । पोखरा विश्वविद्यालयका ४२ आंगिक कलेजका तीन सय ९१ विद्यार्थीले परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन्। ती कलेजले ग्रेडिङसम्बन्धी मापदण्ड मिचेर भर्ना लिएका विद्यार्थीहरूको विश्वविद्यालयको रजिस्ट्रेसन नभएपछि उनीहरू परीक्षा दिनबाट वञ्चित बनेका थिए।

विश्वविद्यालयले व्यवस्थापन संकायका नियमित विद्यार्थीहरूको वैशाख ६ गते (आज) देखि सञ्चालन हुने पुनः परीक्षासँगै आफूहरूको पनि परीक्षा हुनुपर्ने भन्दै पीडित विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे। त्यसक्रममा उनीहरूले विश्वविद्यालयले मान्यता दिएको निजी कलेजमा शुल्क तिरेर पढेको र कलेजहरूले परीक्षामा सहभागिता गराउने प्रतिबद्धतासाथ भर्ना गरेको भन्दै परीक्षा दिने अधिकार सुरक्षित गरिनुपर्ने आवाज उठाए।

‘मेरो कक्षा १२ को बेसिक म्याथमा डी प्लस आएको छ, अरू सबैमा राम्रो ग्रेड छ,’ काठमाडौंको कमलादीस्थित इम्पेरियल कलेजका अर्जुन अधिकारीले आन्दोलनस्थलबाटै नागरिकसँग भने, ‘कलेजले डी प्लसलाई पनि विश्वविद्यालयले रजिस्ट्रेसन गरिदिने र परीक्षामा समेत सहभागिता गराउने भनेको थियो। त्यसैले हामी भर्ना भएका थियौं।’

आफूले पाँच लाख रुपैयाँ तिरेर एक सेमेस्टर पढिसकेकाले परीक्षामा वञ्चित गर्न नमिल्ने उनको भनाइ छ। सोही कलेजका अर्का विद्यार्थी लक्ष्मण केसी पनि बीबीएकै विद्यार्थी हुन्। उनले पनि कक्षा ११ का तीन विषयमा डी प्लस ल्याएका छन्। उनलाई पनि इम्पेरियल कलेजले भर्ना लियो। यो कलेज पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हो। ‘सम्बन्धन प्राप्त कलेजहरूले नियमविपरीत धमाधम भर्ना लिएर विद्यार्थी पढाइरहँदा विश्वविद्यालयले किन कारबाही नगरेको ?’ उनको प्रश्न छ, ‘परीक्षाको समयमा आएर यस्तो बिचल्ली पार्न मिल्छ ?’  नागरिक दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस