काठमाडों । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा। गोविन्द केसीले २८औं दिनमा अनशत तोडेका छन् । शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार बिहान डा. केसीले १९औं अनशन तोडेका हुन् ।
उनलाई कोरोना संक्रमणपछि निको भएका त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय कर्मचारी विकास नेपालीले जुस खुवाएर अनशत तोडाएका हुन् । शनिबार राति त्रिवि शिक्षण अस्पतालमा डा। केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सरकार र डा. केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन । शुक्रबार रातिको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीलाई भेटेपछि वार्ता टोलीले डा। केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।
प्रधानमन्त्री ओलीले आन्तरिक रूपमा आईओएमकी डिन डा. दिव्यासिंह शाहमार्फत केसीसँग संवाद अघि बढाएका थिए । उनी प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत हुन् । प्रधानमन्त्रीकै दबाबमा उनी डिन नियुक्त भएकी थिइन् । सरकारी वार्ता टोलीका सदस्य तथा आयोगका निर्देशक डा। दिलीप शर्मा पनि सहमतिको प्रयासमा जुटेका थिए । सरकारले वार्ता नगरी अनशन मात्र तोड्न आग्रह गरेको भन्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो । सरकारसँग सहमति भएपछि भने चिकित्सक संघ र विभिन्न अस्पतालका आवासीय चिकित्सकहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् ।
केसीले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत सत्याग्रही डा।गोविन्द केसीलाई नेपालगन्ज हुँदै असोज ६ गते काठमाडौं ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस