
काठमाडौं । मुलुकभरका आयोजनलाई रुग्न बनाएको भन्दै सार्वजनिक खरिद नियमावली संशोधन गरेर निर्माण व्यवसायीलाई कस्न खोजेको सरकार व्यवसायीकै कडा विरोधका कारण खुकुलो बन्न बाध्य भएको छ ।
सरकारले हालै खरिद नियमावलीको छैटौं संशोधन गरेर निर्माण कार्यमा व्यवसायीलाई जिम्मेवार बनाउन खोजेको थियो । व्यवसायीले यसको चर्को विरोध गर्दै कुनै पनि ठेक्का प्रक्रियामा सामेल नहुने घोषणा गरेपछि सरकार नियमावलीका केही बुँदा फेरबदल गर्न बाध्य भएको छ ।
गत बिहीबारको मन्त्रिपरिषद् बैठकले खरिद नियमावलीको केही कडा प्रावधान संशोधन गरेर खुकुलो बनाएको सरकारी कर्मचारी र व्यवसायी दुवैले जानकारी दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीले बिहीबारको मन्त्रिपरिषद् बैठकले नियमावलीको केही प्रावधान हेरफेर गरेको जानकारी दिए । 'मन्त्रिपरिषद्को बैठकले खरिद नियमावलीको केही प्रावधानलाई खुकुलो पार्ने काम गरेको छ,' ती अधिकारीले भने, 'नियमावली संशोधन भएको छ । के के बुँदामा परिवर्तन गरियो भन्ने कुरा अहिल्यै नबताऊँ ।' आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस