
काठमाडौं । पहिलो विश्व ज्ञान सम्मेलनको सफलता र नेपाल सरकारबाट प्राप्त सहयोगबाट उत्साहित हुँदै आयोजित गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट संचालित तीन दिने सम्मेलन (अक्टोबर ९(११, २०२०) को उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
उनले समृद्ध नेपालको सपना पूरा गर्न गैरआवासीय नेपालीसँग सहकार्यका लागि सरकार उत्साहित रहेको बताए । सम्मेलनलाई परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली, काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजू, नेपाल उद्योग वाणिज्य महसंघकी अध्यक्ष भवानी राणा, एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घले, पूर्व अध्यक्षहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, वर्तमान अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली विज्ञ डा द्रोण रसाली र सम्मेलनका संयोजक तथा संघका महासचिव डा हेम राज शर्मा लगायतले सम्बोधन गरेका थिए ।
सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहेका थिए । साथै ३० देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रह्यो भने २१० वटा कार्यपत्र प्रस्तुत गरिका थिए । विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोना पश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित थियो । साथै संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्य र नेपाल सरकारको १५ औं पञ्चवर्षीय योजनाले प्राथमिकता तोकेका विषयहरुमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।
गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा सम्पन्न सम्मेलनमा काठमाडौ विश्व विद्यालयको सहकार्य रह्यो । त्यस्तै परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता रहेको सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु, र नेपालसंग जोडिएका विदेशी विज्ञहरु सहभागी हुनु भएको थियो ।
८० घण्टा भन्दा बढी प्रस्तुतिहरु गरिएका थिए । १६ मुलुकहरुका अन्तरराष्ट्रिय वैज्ञानिक समुदायका २५ जना विशेषज्ञहरु तथा ३० मुलुकका गैरआवासीय नेपाली विशेषज्ञहरुले कार्यपत्रहरु प्रस्तुत गरेका थिए । नेपालको परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, महिला, बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रालय, स्वास्थ्य तथा जना संख्या मन्त्रालय, कृषि तथा पशु विकास मन्त्रालय, उर्जा, जल श्रोत तथा सिंचाई मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र सहरी विकास मन्त्रालयका साथै विश्व स्वास्थ्य संगठन, अन्तर राष्ट्रिय श्रम संगठन, एसियाली विकास बैंक तथा विश्व खाद्य संगठनसंग आवद्ध विशेषज्ञहरु पनि सम्मेलनमा सहभागी हुनु भएको थियो ।
यस अघि भएका विभिन्न क्षेत्रीय सम्मेलनका सुझावहरुलाई पनि समेटदै तीन दिने विश्व ज्ञान बैठकका निस्कर्षहरू निम्न अनुसार रहेका छन् । सम्मेलनको पूर्ण प्रतिवेदन एक महिना भित्र नेपाल सरकार र सम्बन्धित निकायमा बुझाइने छ ।
कोभिड(१९ ले गर्दा धेरै नेपालीहरु चरम गरिबीको रेखा मुनि धकेलिने खतरा देखिएको छ । कोभिड(१९ पछिको अर्थतन्त्रलाई पुनर्जीवित गर्न कृषि, औद्योगिक क्षेत्र, पूर्वाधार, उर्जा तथा सूचना प्रविधि मुख्य क्षेत्रको रुपमा रहेका छन् । त्यस्तै संयुक्त राष्ट्र संघले अगाडी सारेको दीगो विकासका लक्ष प्राप्त गर्न नेपाल सरकार, निजी क्षेत्र, नागरिक समाज, गैरआवासीय नेपाली समुदाय समेतको सामूहिक प्रयास आवश्यक छ ।
त्यसैगरि, धेरै विज्ञहरुले कोभिड (१९ ले अल्पकालमा दीगो विकासका लक्षहरुलाई नकारात्मक असर पर्ने भएता पनि दीर्घकालमा सकारात्मक असर नै पर्न सक्नेमा आशावादी देखिए । तर यसका लागि जनचेतनामा वृद्धि, सूचना प्रविधि क्षेत्रमा प्राविधिक सुधार, विकेन्द्रीकरण, विदेशमा कार्यरत नेपाली वैज्ञानिक तथा दक्ष जनशक्तिलाई स्वदेश फर्काउने लगायतका कामहरु गर्न आवश्यक छ । त्यस्तै सुशासन पनि आवश्यक हुनेछ । कोभिड (१९ संग जुध्न स्थानीय सरकारहरुको भूमिका महत्वपूर्ण हुने देखियो, त्यसैले तिनलाई श्रोत, साधन र आवश्यक जनशक्ति उपलब्ध गराउन हामी नेपाल सरकारलाई आग्रह गर्दछौं । त्यस्तै देश भित्र र बाहिर रहेका विकास साझेदारहरुसंग अरु निकट सहकार्य गर्न पनि हामी सुझाव दिन्छौं ।
साथै कोभिड ( १९ ले निगरानी, क्वारेन्टाइन, कन्ट्याक्ट ट्रेसिंग, समन्वय तथा स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुको क्षमता लगायत नेपालको स्वास्थ्य सेवा प्रणालीमा थुप्रै सुधार गर्नु पर्ने अवश्यकता औँल्याएको छ । संघीय तथा प्रान्तीय तहमा जनस्वास्थ्य विभाग गठन गरी स्वास्थ्य सेवा प्रणालीलाई पुनर्संरचना गर्न हामी सुझाव दिएको छ ।
कोभिड(१९ महामारीले नेपाल खाडी लगायत अन्य मुलुकमा नेपाली श्रमिकहरुले व्यहोर्नु परिरहेको समस्यासंग जुध्न तयार छैन भन्ने देखाएका छन् । त्यसैले कोभिड(१९ जस्ता महामारीको अवस्थासंग जुध्न र आवश्यक तयारी गर्न एउटा ‘प्रकोप तयारी ढांचा’ तयार गर्न आवश्यक छ । त्यस्तै नयाँ गन्तव्य मुलुकहरुको पहिचान गर्ने र नेपाल फर्के पछि पनि बेरोजगार रहनु नपरोस् भन्नका लागि आप्रवासी श्रमिकहरुको सीप विकास गर्न आवश्यक छ ।
एनआरएनए सम्मेलनले नेपालको समग्र आर्थिक र सामाजिक विकासका लागि २४ बुँदे सुझाव समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस