aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुई महिनामै बिग्रियो २५ करोडको मौसमी राडार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ जेठ २०७६
दुई महिनामै बिग्रियो २५ करोडको मौसमी राडार

विपतबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न भन्दै सुर्खेतको रातानाङ्ला डाँडामा राखिएको मौसमी राडार दुई महिनामै बिग्रेको छ । विश्व बैंकको सहयोगमा निर्मित राडार गत फागुनमा मात्र सञ्चालनमा आएको थियो ।

‘राडार सञ्चालनमा आएपछि कहिले चट्याङले हानेर, कहिले ट्रान्सफर्मर बिग्रिएर समस्या हुन्छ,’ जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक जगदीश कर्माचार्य भन्छन्, ‘पछिल्लो समय वैशाखमा युपिएस बिग्रेपछि पूरै बन्द भयो ।’ नयाँ खालको प्रविधि सञ्चालन गर्न दक्ष प्राविधिक कर्मचारी नहुँदा नियमित सञ्चालन गर्न नसकिएको कर्माचार्यको भनाइ छ । २५ करोड रुपैयाँ लागतमा राडार स्थापना भएको थियो ।

सरकारले ०७२ मा मौसम र विपत्सम्बन्धी तथ्यांक संकलनका लागि देशका तीन स्थानमा राडार राख्ने योजना अघि सारेको थियो । पूर्वको भूभाग समेट्ने गरी उदयपुरको चित्रेडाँडा, मध्यक्षेत्रमा पाल्पाको रिद्धिकोट र पश्चिमी क्षेत्रमा सुर्खेतको रातानाङला डाँडामा राडार स्थापना गर्ने निर्णय भएको थियो । यसका लागि गत वर्षदेखि बजेट छुट्याउन थालिएको थियो । तर, पाल्पा र उदयपुरमा राडार सञ्चालन हुन अझै दुई वर्ष लाग्ने उपमहानिर्देशक कर्माचार्यले बताए ।

पाल्पाको रिद्धिकोट र उदयपुरको चित्रेडाँडामा राडार स्थापनाका लागि गत वर्ष नै जग्गाको व्यवस्था भइसकेको छ । पाल्पामा बाटो, बिजुलीलगायत भौतिक संरचनाको काम असार मसान्तसम्म सकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

राडारको टेन्डर प्रक्रिया पनि सुरु भइसकेको छ । नियमित काम भए डेढदेखि दुई वर्षमा सम्पन्न हुने बताइएको छ । उदयपुरको चित्रेडाँडामा भने बिजुलीसमेत पुगेको छैन । आगामी आर्थिक वर्षमा बाटो, बिजुली, भवनलगायत भौतिक संरचना निर्माण सक्ने योजना बनाइएको छ । आजको नयाँ पत्रिकामा यो समाचार प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस