aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भक्तपुरका बिद्यार्थीलाई ५ लाख ऋण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ जेठ २०७६
भक्तपुरका बिद्यार्थीलाई ५ लाख ऋण

भक्तपुर नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न समस्या परेका विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्म शैक्षिक ऋण दिने भएको छ ।

भक्तपुरले एसइईभन्दा माथिल्लो तह अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन लागेको हो । यस्तो ऋण विद्यार्थीले अध्ययन पूरा भएको चार वर्षभित्र फिर्ता गरिसक्नुपर्ने खवर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मेयर सुनील प्रजापतिले आइतबार शैक्षिक ऋण वितरण कार्यक्रमको शुभारम्भ गरे । ‘गरिबीकै कारण उच्च शिक्षा पढ्न नपाउने अवस्था नबनोस् भन्ने ध्येय हो । गरिब, दलित र किसान परिवारलाई कार्यक्रमले लाभ मिल्छ,’ उनले भने ।

आफ्नै लगानीमा शैक्षिक संस्थासमेत सञ्चालन गरेको भक्तपुर नगरपालिकाले शैक्षिक ऋण कार्यक्रम सञ्चालन गर्न ‘भक्तपुर नगरपालिकाको शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका’ जारी गरेको छ । निर्देशिकाबमोजिम वडा कार्यालयमार्फत प्रक्रिया पु-याई आवेदन गर्नेलाई ऋण दिन थालिएको मेयर प्रजापतिले बताए । कार्यक्रम लागू गरिएको पहिलो वर्ष ऋण लिन ३५ जनाको आवेदन परेको छ । उनीहरूलाई चालू आर्थिक वर्षबाटै ऋण दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले बताए ।

अधिकारीका अनुसार पहिलो वर्ष चिकित्सा शिक्षा, इन्जिनियरिङ, नर्सिङ, कम्प्युटर इन्जिनियरिङ र कला, संस्कृति विषयमा पढ्ने विद्यार्थीलाई ऋण दिने निर्णय भएको छ । चालू आर्थिक वर्षमा छात्रवृत्ति तथा शैक्षिक ऋण कार्यक्रमका लागि नगरपालिकाले एक करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाले दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक क्षेत्रमा लगानी बढाएको मेयर प्रजापतिको भनाइ छ । ‘नगरपालिका आफैँले ख्वपः विश्वविद्यालय सञ्चालन गर्ने अनुमतिको प्रयास गरिरहेको छ, विश्वविद्यालय खोलेर समाजलाई बुद्धिजीवीकरण गर्ने लक्ष्य छ,’ उनले भने । उनले चिकित्सा क्षेत्रमा जनशक्ति अभाव भएकाले निश्चित सर्त राखेर नगरपालिकाले बर्सेनि दुईजनालाई डाक्टर पढ्न छात्रवृत्ति दिनेसमेत तयारी गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस