काठमाडौं । विभिन्न ठाउँमा गरि ७ जनाको मृत अवस्थामा फेला परेका छन् । ललितपुर, काठमाडौं, उदयपुर, कपिलवस्तु, कैलाली, सिन्धुपाल्चोक र सिन्धुलीमा गरि ७ जनाको शव फेला परेको हो ।
ललितपुर महानगरपालिका १८ नख्खु घर भएका ४७ वर्षीय आसमान तामाङ सोही महानगरपालिका २१ खोकनास्थित बागमती खोलामा सोमबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै, काठमाडौं महानगरपालिका १४ कुलेश्वर सामुदायिक प्रहरी कार्यालय नजिक ग्यारेजको छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, कपिलवस्तु, शुद्धोधन गाउँपालिका ५ घेराउजोत कोठी नदीमा रुपन्देही लुम्बिनी सांस्कृति नगरपालिका १ खुनगाई बस्ने १८ वर्षीय दिपक यादव आइतबार मृत अवस्थामा फेला परेका छन् । असोज १८ गतेदेखि घरबाट उनको खोजी गर्ने क्रममा उक्त नदीमा उनको शव फेला परेको हो ।
त्यसैगरि, कैलारी गाउँपालिका ७ मिलनपुर शिबिर बस्ने ४७ वर्षीया बिर्मा देवी बिक आफ्नै घर कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् भने सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ३ भलायोखर्क बस्ने ६७ वर्षीय डम्बर कुमारी कटुवाल आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरि, उदयपुरगढी गाउँपालिका ६ रातमाटे दमार बस्ने ५४ वर्षीय दल बहादुर सुवेदी खत्री सोही ठाउँस्थित बैजनाथ खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् भने सिन्धुलीको कमलामाई नगरपालिका १ जखनी बस्ने ७८ वर्षीय चित्र बहादुर सार्की घरदेखि करिब २ किलोमिटर टाढा जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । खाना खाई घाँस काट्न गएका उनी अबेरसम्म घर नआएपश्चात खोजी गर्ने क्रममा उनको शव उक्त जंगलमा फेला परेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस