काठमाडौं । सर्वोच्च अदालतको आदेश लत्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका नाममा शुल्क असुल्न अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्ट गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त ल्याबले अधिकतम १ हजार शुल्क लिन पाउने निर्णय गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मुक्तानको इजलासले दिएको आदेशको पूर्ण पाठमा भनिएको छ, ‘सरकारले कोभिड सरुवा रोग हो भनी स्वीकार गरिएबाट यसको सबै प्रकारको सेवा निःशुल्क हुनुपर्छ । सरकारी संयन्त्रबाटै परीक्षणको दायर बढाउनू र पूर्णतः निःशुल्क व्यवस्था गर्नू ।’
सर्वोच्च अदालतले गत १५ असोजमा कोभिड–१९ महामारी भएको हुँदा आकस्मिक र आधारभूत सेवा सरकारी केन्द्र्रहरूमा निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न आदेश दिएको थियो । मन्त्रालयले सो शुल्क परिमार्जन हुँदै जानेसमेत बताएको छ । २८ भदौमा अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले कोरोना परीक्षण निःशुल्क हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
मंगलबार आएको सर्वोच्चको पूर्ण पाठमा भनिएको छ, ‘पीसीआर परीक्षणको उद्देश्य व्यक्तिमा संक्रमण छ वा छैन भनी पत्ता लगाउने हो, सरकारी संस्थानहरूले कोही परीक्षण गर्न आयो भने नसोधी परीक्षण गर्नू । भिसा प्रयोजनका लागि पनि निःशुल्क परीक्षण गर्नू । नेपालले अर्को देशमा कोही आउँदा संक्रमित नआओस् भन्ने चाहन्छ भने अर्को मुलुकले पनि त्यो चाहनु स्वाभाविक ।’
तर, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई पत्र पठाई परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्ट गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त ल्याबले शुल्क लिन निर्देशन दिएको छ । एफडीए, ईयूएबाट मान्यताप्राप्त र स्वास्थ्य सेवा विभागबाट मान्यताप्राप्त कीटहरू मात्र सूचीकृत गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
बायोसेफ्टी प्रोटोकल नमुना संकलन विधि तोकेबमोजिम हुने र नमुना संकलन विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेबमोजिम हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
परीक्षण पोजिटिभ आएमा काठमाडौंमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने र नेगेटिभ आएमा सम्बन्धित व्यक्तिलाई रिपोर्ट दिइने मन्त्रालयले जनाएको छ । यस्तै, आरटी–पीसीआर प्रविधिबाट गरिने टेस्टमा समेत सरकारी तथा निजी ल्याबहरूले मनपरी शुल्क असुल्दै आएका छन् ।
थप ३५५६ जनामा कोरोना
देशभर मंगलबार ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७८ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् ।
मंगलबार देशभर १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ६३ पुगेको छ । देशभर ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा मंगलबार २ हजार १ सय २९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जना संक्रमित भेटिएका छन् ।
मंगलबार १५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ७३ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार ६६ जना भेन्टिलेटरमा र ३ सय ७ जना संक्रमित आईसीयूमा छन् ।
आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय ६९ जना आईसीयू र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५० जना आईसीयू र चार जना भेन्टिलेटर, प्रदेश १ मा ३९ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा र प्रदेश २ मा २० जना आईसीयूमा उपचाररत छन् । यस्तै, सुदूरपश्चिममा चार, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १९ जना आईसीयूमा उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस