काठमाडौं । आयातमा प्रतिबन्ध लगाइएको नधुल्याएको मरीच, सुपारी, केराउ र छोकडाका साथै अमेरिकी डलर ५० हजार माथिका सवारीसाधनका लागि विदेशी मुद्रा सटही सुविधा नदिन राष्ट्र बैंकले निर्देशन दिएको छ । सरकारले प्रतिबन्ध लगाएका वस्तुको आयात गर्ने शीर्षकबाट विदेशी मुद्रा सटही सुविधा अवैध भएकाले विदेशी विनिमय कारोबार गर्ने बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई यस्तो निर्देशन दिइएको हो ।
विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरूलाई जारी गरिएको एकीकृत परिपत्र–२०७६ लाई संशोधन गर्दै विदेशी मुद्रा सटहीमा यस्तो व्यवस्था थपिएको छ । राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा उक्त निर्देशन दिए पनि भन्सार उपशीर्षक ०९०४.११.०० को नधुल्याएको मरीचअन्तर्गत औद्योगिक कच्चापदार्थका रूपमा आवश्यक पर्ने मरीच सम्बद्ध उद्योगको उत्पादन क्षमता र खपतको प्रवृत्तिको आधारमा उद्योग विभागले प्रमाणित गरेको परिमाणअनुसार उद्योग आफैले ल्याउन पाउने निर्देशनमा उल्लेख छ ।
यसैगरी, विदेशी कूटनीतिक नियोग, कूटनीतिक सुविधाप्राप्त अन्तरराष्ट्रिय संघसंस्थाका साथै तिनमा कार्यरत कूटनीतिक सुविधाप्राप्त विदेशी कर्मचारीले निजी प्रयोगका लागि ल्याउने ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधन आयातमा भने सटही सुविधा दिन सकिने केन्द्रीय बैंक विदेशी विनिमय व्यवस्थापन विभागले बताएको छ ।
विभागका अनुसार निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अन्तर्गत नेपाल सरकारले समय समयमा निकासी पैठारी गर्न पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुहरू सोही बमोजिम हुने भएकाले परिमार्जन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस