aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
बोर्डिङ स्कुल सरकारीमा मर्ज, चर्को शुल्क र विदेश हटाउन एकैपटक पाँच स्कुल सरकारीमा गाभिए

बोर्डिङ स्कुल सरकारीमा मर्ज, चर्को शुल्क र विदेश हटाउन एकैपटक पाँच स्कुल सरकारीमा गाभिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ बैशाख २०७६
बोर्डिङ स्कुल सरकारीमा मर्ज, चर्को शुल्क र विदेश हटाउन एकैपटक पाँच स्कुल सरकारीमा गाभिए

पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिकामा रहेका बोर्डिङ स्कुलहरूलाई सरकारीमा मर्ज गरिएको छ। गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिकमा गाभेको हो। निजी स्कुलले चर्को शुल्क असुलिरहेका बेला पूर्वखोला गाउँपालिकाले यस्तो निर्णय गरेको हो। यो निर्णयबाट अभिभावक खुसी भएका छन्।

गाउँपालिकाले शिक्षामा रहेको विभेद हटाउन निजीलाई सरकारीमा मर्ज गरेको जनाएको छ। गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालका अनुसार रिङ्नेरहस्थित पूर्वखोला बोर्डिङ स्कुल सामुदायिक विद्यालय उद्धबुद्ध माध्यमिक विद्यालयमा, वीरकोटस्थित जोनन बोर्डिङ स्कुल गणपति माविमा, जल्पामा रहेको सरस्वती बोर्डिङ् स्कुल सरस्वती माविमा, जल्पामै रहेको माउन्ट भ्यू बार्डिङ स्कुल शम्भु माविमा र देवीनगरमा रहेको चिराग बोर्डिङ स्कुल मातृभूमि माविमा गाभिएका छन्। गाभिएका ती पाँचवटा मात्रै बोर्डिङ स्कुलमा कक्षा ५ सम्म अध्ययन हुँदै आएको थियो। अब सरकारी विद्यालयमा अंग्रेजी माध्यममा पढाइने ढकालले बताए।

पाल्पाको पूर्वखोलाबाहेक अन्य स्थानीय तहले भने बोर्डिङ् स्कुलको स्तरोन्नति गर्न मासिक तथा भर्ना शुल्क बढाउने निर्णय गरेका छन्।
गाभिएका पाँचवटा बोर्डिङ स्कुलमा ५ सय ८५ जना विद्यार्थी अध्ययनरत थिए। त्यस्तै सबै निजी स्कुलमा शिक्षक तथा कर्मचारी गरी ५३ जना कार्यरत थिए। ती कर्मचारी र शिक्षकको तलबभत्ता जुन–जुन सामुदायिक विद्यालयमा गाभिएका छन्

 तिनैले बेहोर्ने सूचना अधिकारी ढकालले बताए। ती शिक्षक र कर्मचारीले बोर्डिङ स्कुलमा खाईपाई आएको तलबभत्ता र अन्य सुविधा पाउनेछन्। गाउँपालिकाले गत वर्ष गाउँशिक्षा सुधार कार्यदल र प्राविधिक कार्यदल बनाई बोर्डिङ स्कुल तथा सरकारी विद्यालयको अनुगमन गरेको थियो। कार्यदलको सुझाव प्रतिवेदनका आधारमा बोर्डिङ स्कुलहरूको भौतिक पूर्वाधार गाउँपालिकाले खरिद गर्नेछ।

गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले पाँचवटा बोर्डिङ स्कुलको जग्गा, भवन र फर्निचरको मूल्य दुई करोड १५ लाख ४६ हजार निर्धारण गरिएको बताए। उनले भने, ‘आर्थिक वर्ष २०७/०७७ भित्र ती बोर्डिङका सञ्चालकलाई भौतिक सम्पत्तिको क्षतिपूर्ति दिइनेछ। संघ र प्रदेश सरकार तथा दातृ निकायसँग सहकार्य गरी मूल्यांकनबापतको रकम उपलब्ध गराउने योजना छ।’

उनले अहिले बोर्डिङ भएकै स्थानमा केही कक्षा चलाइने र सबै व्यवस्था मिलाएपछि एकै स्थानबाट अंग्रेजी÷नेपाली दुवै माध्यममा पढाइने बताए। पाँच वर्षभित्र यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने र शिक्षामा एकरुपता ल्याउने कार्ययोजना गाउँपालिकाले बनाएको छ। गाउँपालिका र सरोकारवालाको समन्वयमा निजी विद्यालय सामुदायिकमा गाभिएका हुन्। नागरिक दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस