aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

राष्ट्रपतिको सवारीमा सुधारः सडकमा सकस भोग्नु नपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ जेठ २०७६
राष्ट्रपतिको सवारीमा सुधारः सडकमा सकस भोग्नु नपर्ने

काठमाडौं । सडकदेखि विमानका यात्रुसम्मले दुःख पाउन थालेको भन्दै विरोध भएपछि राष्ट्रपतिको सवारीमा सुधार गर्न थालिएको छ । सामान्य कार्यक्रम राष्ट्रपतिले आफ्नै कार्यालयमा उद्घाटन गर्न सुरु गरेकी छिन् । गत २१ जेठमा राष्ट्रपति भण्डारी नेपालगन्ज गएकी थिइन् । अनौपचारिक भ्रमणमा गएकाले विमानस्थलमा नोटामसमेत जारी गरिएन । उनी नियमित उडानमार्फत गइन् र २३ गते फर्किइन् । यसबाट विमानस्थलमा कुनै असर नपरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए । 

भिआइपीको औपचारिक भ्रमणका क्रममा विमानस्थलमा नोटाम जारी गरेर अन्य उडान रोक्ने गरिन्छ । जसले दिनभरको उडान तालिका अस्तव्यस्त हुने गरेका छन् । सुरक्षाका कारण नभई भिआइपीको सम्मानका लागि अन्य उडान रोकिने गर्दा सर्वसाधारणबाट आलोचना हुने गरेको थियो ।

यसमा पनि सुधारको प्रयास भइरहेको विमानस्थलका एक अधिकारीले बताए । ‘भिआइपीको सुरक्षा कमान्ड सेनाले हेर्ने गर्छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले भने, ‘सेनाको सिफारिसमा नोटाम जारी हुने हो । त्यसमा सुधार गर्न हामीले छलफल थालेका छौँ ।’ 

गत साता राष्ट्रपति नेपालगन्ज जाँदा र फर्कंदा विगतको तुलनामा ट्राफिक निकै कम प्रभावित भएको थियो । आइतबार भोटोजात्राको कार्यक्रम भने औपचारिक भएकाले सडक दुईतर्फ नै खाली गरियो । ‘विगतको तुलनामा हामीले थोरै मात्र सडकमा असर गर्ने गरी व्यवस्था मिलाएका थियौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भने । 

शीतलनिवासभित्रै उद्घाटन 
अत्यन्त सामान्य कार्यक्रममा पनि राष्ट्रपति जाने र सडक अस्तव्यस्त बनाउने गरेको भनेर राष्ट्रपतिको चर्को आलोचना हुँदै आएको थियो । त्यसपछि केही कार्यक्रम शीतलनिवासभित्रै आयोजना गर्न थालिएको छ । आइतबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने सम्मेलन पनि शीतलनिवासभित्रै उद्घाटन गरियो ।

राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार सामान्य कार्यक्रमा निस्कँदा सर्वसाधारणलाई सडकमा सास्ती हुन थालेपछि उद्घाटन कार्यक्रम शीतलनिवासभित्रै गर्न थालिएको हो । सुरक्षा निकायले समेत यस्तो सुझाब दिँदै आएका थिए । 

गत फागुनमा सैनिक दिवसका अवसरमा भद्रकाली पुगेकी राष्ट्रपति फर्कंदा लामो समय सडक खाली बनाएर सास्ती दिएको भन्दै सर्वसाधारणले सवारी अवज्ञा गरेका थिए । त्यसपछि पनि पटकपटक अवज्ञाको प्रयास भएपछि सुरक्षाकर्मीले सवारीको योजनामा परिवर्तन गरेर थोरै समय मात्र सडक खाली गराउन थालेका हुन् । ‘सवारीका कारण गणतन्त्रकै बदनाम भएको गुनासोपछि सुधार गरिएको हो,’ गृह मन्त्रालयका एक अधिकारीले भने ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस