
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले गरेको पछिल्लो विज्ञापन ऐनअनुसार भएको दावी गरेका छन् ।
आज बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री पण्डितले कर्मचारी भर्नाका लागि आयोगले गरेको पछिल्लो विज्ञापनप्रति चर्को विरोध भएपछि यस्तो जवाफ दिएका हुन् ।
आयोगले ९ हजारभन्दा बढी कर्मचारी भर्ना गर्न विज्ञापन गरेको थियो । उक्त विज्ञापनले यसअघिको समानुपातिक समावेशीको व्यवस्थालाई उल्लंघन गरिएको भन्दै आलोचना हुँदै आएको छ ।
‘लोकसेवाले निकालेको विज्ञापन संविधानको भावना मिचेर गरिएको होइन । पुरानो निजामति ऐनमा जेजस्तो व्यवस्था छ, त्यसैअनुसार आयोगले विज्ञापन निकालेको हो,’ सोमबार समितिको बैठकमा मन्त्री पण्डितले दावी गरे ।
उनले प्रदेश लोकसेवा आयोग बनि नसकेकाले संघीय लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि विज्ञापन गरेको समेत जनाए । ‘स्थानीय तहबाट संकलन गरी जस्ताको त्यस्तै लोकसेवा आयोगलाई पठाएका हौं ।
संविधानले संघीय लोकसेवा आयोग र प्रदेश लोकसेवा अयोगको व्यवस्था गरेको छ । स्थानीय तह र प्रदेशमा स्थायी कर्मचारीको छनोट प्रदेश लोकसेवा अयोगले गर्ने भए पनि प्रदेश लोकसेवा आयोग नुबनुन्जेल संघीय लोकसेवा आयोगले छनोट गरिदिने व्यवस्था भएअनुसार नै अहिलेको विज्ञापन गरिएको हो,’ मन्त्री पण्डितको भनाई छ ।
प्रतिक्रिया दिनुहोस