ललितपुर । ललितकलाका क्षेत्रमा विश्व अभिलेख राख्ने तयारीमा नेपाली कलाकारह जुटेका छन् ।अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको अगुवाइमा विश्व अभिलेख राख्ने योजनाका साथ १०० घण्टा (चार दिन चार रात र चार घण्टा) लगातार ‘अनलाइन कला कार्यशाला’ आयोजना गर्न लागिएको हो । समाजले आज पत्रकार सम्मेलन गरी उक्त कार्यशालाबारे जानकारी गराएको हो । यसअघि ७२ घण्टा कार्यशाला आयोजना भएको अभिलेख छ ।
कोभिड–१९ को सङ्क्रमण र यसले निम्त्याएको मानवीय समस्यालाई विश्व एक भएर लड्न आह्वान गर्दै यही कात्तिक २३, २४, २५ र २६ गते ७२ कलाकारको सहभागितामा १०० घण्टे ‘अनलाइन कला कार्यशाला’ आयोजना हुने आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिए । उनले कार्यशालाबारे गिनिज बुक अफ वर्ल्ड रेकर्डसँग पत्राचारको काम भइरहेको बताए ।
उक्त कार्यक्रमले नेपाली ललितकला र त्यसमा काम गर्ने कलाकारलाई विश्वसामु चिनाउने र नेपाली कलाको शिर ठाडो पार्ने विश्वास लिइएको छ । यसका लागि नेपाली कलाकार छनोट भइसकेको र आवश्यक तयारी शुरु भएको आइडब्लुएस नेपालका सचिव केशवराज खनालले जानकारी दिए ।
कार्यशालामा बनेका कलाकृतिको प्रदर्शनी, सहभागी कलाकारको चिनारी पुस्तक प्रकाशन र भिडियो प्रदर्शनीसमेत गरिनेछ । कला समीक्षक रमेश खनालले १०० घण्टा लामो कला कार्यशालाले नेपालको गरिमा बढाउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस