
काठमाडौं । कार्तिक २ गते अर्थात हिजोदेखि कोभिडको उपचार गर्न नगर्ने निर्णय गरेको सरकारले सांसदहरूलाई भने यो महामहारीमा पनि दशैं भत्ता बाडेको छ । यस्तो विषम परिस्थितिमा पनि संसद सचिवालयले दसैंभत्तावापत सांसदहरुको खातामा २१ करोड ३३ लाख पाँच हजार ३१० रुपैयाँ पठाएको हो ।
उक्त रकम राज्य कोषबाट भार पर्ने गरी पठाइएको हो । सचिवालयले प्रति सांसद ६४ हजार ७० रुपैयाँ बैंक खातामा पठाएको थियो । सरकारले आम नागरिकको महामारीमा उपचार नगरेर सांसदहरूलाई भत्ता बाड्दा चौतर्फी विरोध भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना सांसदहरूको खातामा गएको रकम फिर्ता गर्ने निर्णय गरिसकेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका अग्नी सापकोटालगायतका केही नेताले पार्टीले औपचारिक निर्णय गर्नुभन्दा पहिला नै दशैंभत्ता स्वरुप सरकारी ढुकुटीबाट गएको रकम यो महामारीमा फिर्ता गर्ने निर्णय गरिसकेका थिए ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेपनि सत्तारुढ दल नेकपाले भने अहिलेसम्म भत्ता फिर्ता गर्ने सम्बन्धमा कुनै निर्णय गरेको छैन । समाजवादी दलका साथै अन्य साना दलले पनि यस विषयमा कुनै निर्णय गरेका छैनन् ।
प्रतिनिधिसभामा २७१ र राष्ट्रियसभामा ५९ सांसद रहेका छन् । जसमध्ये सबैभन्दा बढी नेकपाका सांसद छन् । प्रतिनिधि सभामा नेकपा १७४ र राष्ट्रिय सभामा ४९ सांसद छन् । दशैं भत्ता वापत पठाइएको अधिकांश रकम सत्तारुढ दल नेकपाका सांसदहरूको खातामा पुगेको छ ।
दुबै सदनमा गरी नेकपा सांसदका लागि कुल १४ करोड २८ लाख सात हजार ६१० रुपैयाँ राज्यकोषबाट गएको छ । अझ पूर्वअर्थमन्त्री युवराज खतिवडाको स्थानमा राष्ट्रिय सभामा नेकपाका एक सांसद कम छन् । साथै, उपसभामुखको स्थान पनि रिक्त छ ।
त्यस्तै कांग्रेसका प्रतिनिधि सभामा ६३ जना र राष्ट्रिय सभामा ६ जना सांसद छन् । दुबै सदनमा गरि कांग्रेसका ६९ सांसद छन् । कांग्रेसका ६९ सांसद मध्ये ६७ सांसदले दसैंभत्ता फिर्ता गर्दा राज्यकोषमा ४२ लाख ९२ हजार ६९० रुपैयाँ फिर्ता हुन्छ । कांग्रेसका विजय गच्छदार र अफताब आलम निलम्बिनमा परेका छन् ।
यस्तै जनता समाजवादी पार्टीबाट प्रतिनिधि र राष्ट्रियसभामा ३७ सांसद छन् । यी सांसदमध्ये दुई जना रेशम चौधरी र हरिनारायण रौनियार निलम्बनमा परेका छन् । समाजवादी दलका ३५ सांसदले दसैं भत्ता वापत २२ लाख ४२ हजार ४५० रुपैयाँ पाएका छन् प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी जनमोर्चा, मजदुर किसान पार्टी र स्वतन्त्र १÷१ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस