aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

घरमै बसेर चाडपर्व मनाऔँ

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, ०३ कार्तिक २०७७
घरमै बसेर चाडपर्व मनाऔँ

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण दिनहुँ बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस पटकको दशैँ लगायतका चाडपर्व घरमै बसेर मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सुरक्षित रूपमा चाडबाड मनाउनुपर्ने भन्दै यो पटकलाई घरमै बसेर दशैँ मनाउन आग्रह गरे । उनले आफ्नो परिवारको सुरक्षाका निम्ति जमघट नगरी दशैँ, तिहार मनाउन सुझाव दिए । उनले ज्यान रहे अर्को वर्ष जमघट र धूूमधामसँग पर्व मनाउन सकिने बताए । 

उनले घरमा मृत्यु भएका सङ्क्रमितको शव व्यवस्थापन परिवार आफैँले गर्नुपर्छ भन्ने भनाइलाई तोडमोड गर्न खोजिएको बताए । उनले कतिपय मानिसले आफ्नो धर्म संस्कृतिअनुसार शव व्यवस्थापन गर्नुपर्ने माग राखेकाले उक्त शव व्यवस्थापन परिवारले गर्नुपर्ने भनिएको स्पष्ट गर्दै शवको व्यवस्थापन नेपाल सरकारले गरिरहेको स्पष्ट पारे । 

यस्तै उनले कोरोना परीक्षण शुल्क हुने वर्गले आफ्नै खर्चमा गरिदिए अन्य विपन्नलाई सहयोग पुग्ने मन्त्रालयको भनाइ रहेको बताउनुभयो । हाम्रोजस्तो स्रोतसाधन कम भएको देशमा हुनेखाने वर्गले पीसीआर परीक्षण तथा उपचार खर्च गरिदिए गरिब, विपन्न, एकल महिलालाई निःशुल्क उपचार गर्न सहज हुने बताए । 

यसैबीच गत २४ घण्टामा देशभर थप तीन हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकमा थप दुई हजार ३८८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै सोमबार देशभर थप १८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मन्त्री नेम्वाङलाई कोरोना
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सो कुराको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । मन्त्री नेम्वाङलाई कोभिड–१९ को लक्षण देखिएपछि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको जानकारी उहाँका स्वकीय सचिव गणेश योङ्हाङले दिए । 

आधारभूत अस्पताल निर्माण गरिने
सरकारले कोरोनाबाट सङ्क्रमितको उपचारका लागि सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मको आधारभूत अस्पताल निर्माण गर्ने भएको छ । मङ्सिर १५ गते ती अस्पतालको शिलान्यास एकै पटक गर्ने तयारी थालिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ बाट सङ्क्रमितको उपचारका लागि सबै स्थानीय तहमा पाँचदेखि पन्ध्र शøया सम्मको आधारभूत अस्पताल स्थापना गर्ने तयारी सुरु गरेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस