aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

सीमामा तस्करी गर्ने समूहद्वारा प्रहरीको हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ कार्तिक २०७७
सीमामा तस्करी गर्ने समूहद्वारा प्रहरीको हत्या

धनगढी । धनगढी उपमहानगरपालिका—१२स्थित जुगेडा स्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरीको हत्या घटना सीमा क्षेत्रमा तस्करी गर्ने समूहले गरेको खुलेको छ । 

  जिल्ला प्रहरी कार्यालय कैलालीमा मंगलबन आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता प्रतिक बिष्टले मालसामान तस्करी गर्ने समूहको प्रहरी हत्या घटनामा संलग्नता देखिएको बताए ।  ‘‘नेपालवाट मटर भारत तर्फ तस्करी भइरहँदा प्रहरीवाट रोकेर नियन्त्रणमा लिने प्रयास गर्दा तस्करहरुले उक्त हत्या घटना घटाएको अनुसन्धानवाट देखिएको छ”, प्रवक्ता बिष्टले भने “पक्राउ परेकाहरुले बयानका क्रममा हत्यामा संलग्न भएको स्वीकारेका छन् ।” उक्त पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँको शनिवार राति सीमा क्षेत्रको चकमेली गाउँ नजिकै हत्या गरिएको थियो ।


प्रसनि बिक र प्रहरी जवान साउद नियमित गस्तीका क्रममा शनिवार राती जुगेडाको दक्षिण तर्फको नेपाल— भारत सीमावर्ती क्षेत्रमा थिए ।  प्रहरीको हत्या गरिसकेपछि शबलाई घटनास्थलवाट झण्डै चारसय मिटरको दुरीमा रहेको मोहना नदी सम्म पुर्याई सो समूह फरार भएको जनाइएको छ । पत्रकार सम्मेलनमा घटनामा संलग्न भएको अरोपमा पक्राउ परेका स्थानीय सात जनालाई आज सार्वजनिक गरिएको छ ।

बिकको शब घटना भएको दोस्रो दिन मोहना नदीमा फेला परेकोमा प्रहरी जावानको शब सोही नदीमा मंगलबार फेला परेको छ । नदी क्षेत्र वाट प्रसनि बिक ले प्रयोग गर्ने गरेको पेस्तोल र मोबाइल सेट समेत प्रहरीले फेला पारेको छ ।   

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका—१०का पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना र गोपाल भन्ने रामगोपाल राना रहेका छन् । पक्राउ परेका माथि ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस