काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समेत काम हेर्ने जिम्मेवारी पाएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारको कामलाई थप प्रभावकारी बनाउन छलफल सुरु गरेका छन् । छलफलको क्रममा उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कामलाई थप प्रभावकारी र परिणाम ल्याउने गरी ठोस काम गर्न निर्देशन दिएका हुन् ।
उपप्रधानमन्त्री पोखरेलले मु्ख्य सचिव शङ्करदास बैरागी, सचिव, सहसचिवहरूलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पदाधिकारीहरूसँग मङ्गलबार ब्रिफिङ लिएका हुन् । सो अवसरमा प्रधानमन्त्री कार्यालयका आधा दर्जन महाशाखाका प्रमुखले आ–आफ्नो महाशाखाको कामकारबाहीबारे जानकारी गराएका थिए । उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भइरहेका कामका बारेमा मु्ख्य सचिव, सचिव, सहसचिवहरूलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पदाधिकारीहरूसँग छलफल गरिएको बताए ।
‘‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीको अभ्यास नेपालमा पहिलो पटक गर्न थालिएको छ, यो मेरा लागि नयाँ ठाउँ हो’’, उनले भने, ‘‘कर्मचारीको सहयोगले नै यस कार्यालयबाट हुने कामलाई थप नयाँ उचाइमा पु¥याउने छु ।’’ उनले अगाडि भने, ‘‘म यहाँ कामलाई नयाँ गति दिन र सहजता प्रदान गर्न आएको छु ।’’
प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयको समन्वयलाई आफूले प्रभावकारी बनाउने बताउँदै उनले कामलाई अगाडि बढाउन कुनै किसिमको नीतिगत वा जनशक्तिमा समस्या भए त्यसलाई पहिचान गरेर अगाडि बढ्नुपर्ने उहाँले स्पष्ट पारे । ‘‘यदि नीतिगत वा जनशक्तिमा समस्या भए प्रधानमन्त्रीज्यूलाई जस्ताको त्यस्तै भन्नुपर्छ र समाधान खोज्नुपर्छ’’, उनले अगाडि भने । ‘‘तपाईंहरूले काम गर्ने कुरामा जे कुरा देख्नुभएको छ, जस्ताको त्यस्तै मलाई प्रस्तुत गर्नुपर्छ, ताकि समस्यालाई चिन्न सकौँ र समाधान गर्न सकौँ’’, उपप्रधानमन्त्री पोखरेलले भने ।
प्रतिक्रिया दिनुहोस