
काठमाडौं । उद्यमी व्यवसायीहरूको छाता संस्थानेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी मङ्सिर ११ र १२ गते तीन ठाउँमा निर्वाचन गर्ने गरी बुधवार निर्वाचन तालिका सार्वजनिक गरेको छ । महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रम हरू गर्ने सूचनामा उल्लेख गरिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९कारण सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई दृष्टिगत गर्दै भिन्दा भिन्दै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ । दुई दिन हुने साधारण सभामा ११ गते महासंघको ५४ औं साधारणसभाको समुद्घाटन हुनेछ भने १२ गते निर्वाचन हुने सूचनामा उल्लेख गरिएको छ ।
उक्त निर्वाचनको लागि उम्मेद्वारहरूकोे मनोनयन पत्र आज बुधवार देखिनै दाखिला गर्न सकिने छ । दाखिला भएको मनोनयन पत्रको आधारमा उम्मेद्वाहरूको पहिलो नामावली मङ्सिर चार गते साँझ ६ बजे प्रकाशित गरिने तालिका तयार भएको छ । उम्मेद्वारहरूका विरुद्धमा परेका दावी विरोधको छिनोफानो पछि अन्तिम नामावली मङ्सिर ८ गते प्रकाशन हुने सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस