aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

पुनर्निर्माण सम्पन्न रानीपोखरीको उद्घाटन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ कार्तिक २०७७
पुनर्निर्माण सम्पन्न रानीपोखरीको उद्घाटन

काठमाडौं । पुनर्निर्माण सम्पन्न ऐतिहासिक रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । मल्लकालीन शैलीमा पुनर्निर्मित रानीपोखरी परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा राष्ट्रपति भण्डारीलेताम्रपत्र अनावरण गरिन् । 

त्यसक्रममा, राष्ट्रपति भण्डारीले बालगोपालेश्वर मन्दिरमा प्राण प्रतिष्ठा पूजाको आरती लिए र पोखरीमा जल अर्पण पनि गरिन् । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल एवं अन्य मन्त्रीहरुले पनि विभिन्न तीर्थस्थल तथा पवित्र नदीहरुबाट ल्याइएको जल अर्पण गरेका थिए । 

उद्घाटनपछि शुभकामना मन्तव्य हुँदै राष्ट्रपति भण्डारीले विभिन्न समस्या र परिस्थितिसँग पौठेजोरी खेल्दै पुनर्निर्माण महाअभियानले निरन्तर गति लिएको उल्लेख गरिन् । ऐतिहासिक रानीपोखरीको पुरानै शैली, स्वरुप र प्रविधिमा जीर्णोदार एवं पुनर्निर्माण सम्पन्न भएको बताईन् । 

राष्ट्रपति भण्डारीले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको वृहत्तर गुरुयोजना सरोकारवाला पक्षसँग समन्वय गरी कार्यान्वयनमा लैजान शुभकामना दिइन् । 

उनले भनिन्, ‘पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुनेछ । यसबाट साँस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रुपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशी पर्यटकहरूका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।’

कार्यक्रममा स्वागत मन्तव्य राख्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास, सम्पदालगायतका पुनर्निर्माणका विभिन्न क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराए । उनले भने, ‘यही मंसिरभित्र सिंहदरबारको मख्य भागको पुनर्निर्माण सम्पन्न गरी प्रधानमन्त्री कार्यालय सार्ने लक्ष्यसहित काम गरिरहेका छौँ । यही पौष महिनाभित्र २२ तल्लासहित धरहराको मूल संरचना सम्पन्न गर्नेछौँ । ’

रानीपोखरी एवं बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणमा करिब २८ करोड रुपैँया खर्च भएको छ । प्राधिकरणले रानीपोखरीको पुनर्निर्माणलाई विस्तार गरेर यसलाई रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप, शहिदगेट र दशरथ रंगशालासँग एकीकृत गर्दै वृहत्तर गुरुयोजनाको खाका तयार पारेका छ जसलाई विभिन्न सरोकारवालाहरुको सुझावसहित अन्तिम चरणमा पु¥याएका छ । 
 

प्रतिक्रिया दिनुहोस