
दोलखा । चीनसँग पुरानो नाका तातोपानी भूकम्पपछि बन्द भएर निकै तामझामका साथ दुई साताअघि पुनः सञ्चालन भयो । ४९ महिनापछि निकै कसरतपछि सञ्चालनमा आएको दिन चारवटा कन्टेनरलाई रातो कार्पेट ओछ्याएर स्वागत गरियो ।
जेठ १७ गतेबाट सञ्चालन गर्ने सहमति भए तापनि २ दिनअघि नै नाका सञ्चालनमा आयो । गत २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो ।
१२ दिनअघि सञ्चालनमा आएको नाका त्यसपछिका दिनमा अहिले बन्द जस्तै छ । सञ्चालनमा आएको २ साता बित्न लाग्दासमेत ती चारवटा कन्टेनर बाहेक न त चिनियाँ पक्षले अरु गाडी प्रवेश दियो न त चिनियाँ गाडी नेपालतर्फ आए । भूकम्पपछि पुनः सञ्चालनमा आएको नाका अहिले औपचारिकतामा मात्रै सीमित भएको छ ।
चिनियाँ र नेपाली पक्षले सीमानाकामा आवश्यक पुर्वाधार निर्माण गरेपछि दुवै देशका अधिकारीको उपस्थितिमा नाका पुनः सञ्चालनमा लाइएको हो । सो क्रममा उद्योग वाणिज्य तथचा आपूर्तिमन्त्री मातृका यादव, सो क्षेत्रका सांसद अग्नि सापकोटा, शेरबहादुर तामाङ, उद्योग मन्त्रालयका अधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायतका अधिकारीको सहभागिता थियो ।
नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यावसायीको समेत चहलपहल बढेको छ । बार्षिक २० अर्बको आयात र ३ अर्ब रुपैयाँ बढीको निर्याय हुने सो नाका सञ्चालनमा आएपछि स्थानीय व्यवसायीसमेत उत्साहित भएका छन् ।
तर जुन उत्साहका साथ नाका सञ्चालन भयो । रातो कार्पेटमा स्वागत गरिएका चारवटा ट्रक बाहेक अरु कुनै पनि गाडी अहिले सो नाकाबाट आवत जावत भएका छैनन् । आजको कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस