सरकारले छिमेकी मुलुक भारत निकासीमा पहिलोपटक नगद अनुदान दिने व्यवस्था गरेको छ । यसअघिसम्म भारतबाहेक अन्य तेस्रो मुलुकमा निकासी गरेबापत मात्रै सरकारले नगद अनुदान दिने गरेको थियो ।
स्वदेशी उत्पादनको प्रवद्र्धन गरी विदेशी वस्तुको आयात प्रतिस्थापन गर्न अहिले सरकारले तरकारी, फूल, अलैंची, सुँठो र जुत्तामा ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको हो ।
नेपाल–भारत रेल सेवा सम्झौता संशोधन गर्नका लागि भारतमा भएको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा नेपाल र भारतबीच यस्ता वस्तुहरको भारत निर्यातमा नगद अनुदान दिने व्यवस्थामा समझदारी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीले सरकारले पहिलोपटक भारत निकासीमा नगद अनुदान दिने व्यवस्था गरेको जानकारी दिए । उनले स्वदेशी निकासीजन्य वस्तुको उत्पादन बढाई आयात प्रतिस्थापनका लागि यस व्यवस्था निकै उपयोगी र फलदायी हुने अपेक्षा गरिएको बताए ।
यसैगरी, स्वदेशी जुत्तामा ३ प्रतिशत अनुदान दिने निर्णय गरेको जानकारी गराउँदै सचिव अधिकारीले भने, ‘यसअघि सरकारले तेस्रो मुलुक निर्यात गरेबापत ५ प्रतिशत नगद अनुदान दिँदै आएको थियो ।’ उनले अहिले सरकारले भारत निकासी गर्दा पनि पहिलोपटक अनुदान पाइने व्यवस्था गरेको बताए ।
मन्त्रालयका सचिव अधिकारीका अनुसार जुत्तालाई पहिलोपटक सूचीमा समावेश गरिएको हो । यसअघि तेस्रो मुलुक जुत्ता निर्यात हुँदा नगद अनुदानको व्यवस्था थिएन, अहिले भारतसहित तेस्रो मुलुक निर्यात गर्दा अनुदान पाइन्छ । यसअघि उद्योगी÷व्यवसायीले तेस्रो मुलुक मात्रै नभई भारत निकासी गर्दा पनि नगद अनुदान दिन माग गर्दै आएको समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस