
वीरगन्ज । आइतबार बिहान १० बजे हामी वीरगन्ज महानगरपालिका पुग्यौं। सेवाग्राही कर्मचारीलाई पर्खिरहेका थिए। महानगरको अधिकांश फाँटमा कर्मचारी आइपुगेका थिएनन्। खुर्सी रित्तै थिए। कार्यालय प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत बिदामा थिए। उनको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या विकास महाशाखाका प्रमुख अरुणकुमार महतोले सम्हालेका छन्। तर, निमित्त प्रमुख महतो आफैं १० बजेर ३५ मिनेटमा कार्यकक्षमा प्रवेश गरे।
कार्यालय रित्तै पारेर भ्रमण
अन्य फाँटका कर्मचारीलाई समयमै कार्यालय आउन कुनै हतार देखिएन। सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा देखिएको ६ वटा टेबलमा एउटा पनि कर्मचारी थिएनन्। शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णको कक्ष पनि खाली थियो। उनी विद्यालयको कार्यक्रममा गएका रहेछन्।
लेखा अधिकृत रूपनारायण राउत, जिन्सी प्रमुख प्रतिज्ञा वैद्य, प्रशासन तथा जनशक्ति महाशाखा प्रमुख विकासकुमार मिश्रसहित कर्मचारी र वडाध्यक्षको टोली भरतपुर महानगरपालिका भ्रमणका लागि निस्किएका रहेछन्। प्राविधिक र योजना शाखा कर्मचारी भेटिएनन्। वीरगन्जस्थित एक होटलमा भइरहेको तालिममा महानगरका सबै इन्जिनियर र योजनाका कर्मचारी सहभागी भएका रहेछन्।
एघार बजेसम्म पनि खुलेन राजस्व फाँट
आर्थिक वर्षको अन्तिम समयमा भीड देखिने योजना र प्राविधिक शाखामै कर्मचारी नहुँदा सेवाग्राही आउँदै फर्किंदै गरिरहेका थिए। केही सेवाग्राही त कर्मचारी पर्खेर बसेको देखियो। घरको नक्सापासको काम लिएर आएका सेवाग्राही ताला लागेको प्राविधिक शाखाको अघिल्तिर रहेको कुर्सीमा बसिरहेका थिए। कर्मचारी नभएकाले अन्योलमा रहेको बताउँदै थिए उनीहरु। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस