aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कुलमान ज्यू, तपाईका कर्मचारीले उपभोक्ता कुटे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
कुलमान ज्यू, तपाईका कर्मचारीले उपभोक्ता कुटे

बारा । नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रमा सोमबार गुनासो गर्न आएका उपभोक्ता कुटिएका छन् । विद्युत प्राधिकरणका कर्मचारीले बाँसको भाटाले प्रहार गर्दा तीनजना उपभोक्ता घाइते भएको बारा प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले कुटाइबाट कलैया उपमहानगरपालिका ९ रामपुरका रामबिहारी राउत अहिर, वीरेन्द्र यादव र राजेश प्रसाद घाइते भएको बताए । उनका अनुसार घाइतेको कलैयास्थित जिल्ला अस्पतालमा उपचार गरिएको छ । विद्युतबारे गुनासो गर्न गएका रामपुर टोलका स्थानीय र विद्युत कार्यालयका कर्मचारीबीच छलफलको क्रममा कार्यालयपरीसरमै झपड भएको राठौरले बताए । 

अनुसन्धानको क्रममा सुरुमा स्थानीयबाटै कर्मचारीमाथि नराम्रो व्यवहार भएको र पछि कर्मचारीले स्थानीयलाई कुटेको देखिएको उनले जानकारी दिए । प्राधिकरणको लापरवाहीका कारण सोमबार बिहान ३ बजे हाई भोल्टेज करेन्ट प्रवाह हुँदा टिभी, फ्रिज, पंखा, पानी तान्ने मोटरलगायत विद्युतीय सामग्री नष्ट भएपछि क्षतिपूर्तिको माग गर्दै रामपुरका उपभोक्ता विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका थिए । 

करिब ४०/५० जनाको संख्यामा पुगेका स्थानीयले कार्यालय प्रमुख गजेन्द्र चौधरीलाई कार्यालयपरिसरमै बोलाउन माग गर्दै प्रदर्शन गर्न थालेपछि कर्मचारीले उनीहरुमाथि आक्रमण गरेका थिए । बिहान साढे ११ बजेदेखि प्राधिकरणको मूलगेट नै बन्द गरी धर्नामा बसिरहेका प्रदर्शनकारीमाथि प्रहरी पुगेपछि प्राधिकरणका कर्मचारीले आक्रमण गरेको प्रदर्शनकारी स्थानीयको आरोप छ । 

प्रमुख चौधरीले आफू एक कर्मचारीको उपचार गराउन काठमाडौं रहेको बेलामा केही स्थानीयले कर्मचारीमाथि हातपातको प्रयास गरेको आरोप लगाए । उनका अनुसार हुरीका कारण धेरै स्थानमा विद्युत अवरोध भएको र कर्मचारी त्यसैमा दिनरात खट्नुपरेको छ । त्यति गर्दा पनि राम्रो काम गर्ने कर्मचारीलाई उल्टै हातपातको प्रयास गरिएकाले काम गर्ने कर्मचारीको मनोबल खस्केको प्रमुख चौधरीले आरोप लगाए । नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस