
पाल्पा । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रत्येक स्थानीय तहलाई ६ लाखदेखि १ करोडसम्म बजेट दिइएको छ । यो कार्यक्रमअन्तर्गत देशभर दुई अर्ब ३७ करोड वितरण गरिएको छ । स्थानीय तहको गरिब घरधुरी संख्या (६०५ भार), जनसंख्या (२०५ भार) र दुर्गमता (२०५ भार) का आधारमा रकम दिइने ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७६’ मा उल्लेख छ ।
तर नयाँ पत्रिकाले भने उक्त कार्यक्रमको प्रभावकारितामाथि निरन्तर प्रश्न उठाएको छ । २ अर्ब ३७ करोडको प्रधानमन्त्री रोजगार कार्यक्रममा निर्माण सामग्री खरिदमा मात्रै ७१ करोड खर्च भएको छ । कतिपय हास्यास्पद कार्यक्रममा रकम खर्च गरिएको छ ।
पाल्पामा रोजगार कार्यक्रमको बजेटबाट बाँदर लखेट्ने तयारी गरिएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाले रोजगार कार्यक्रमको बजेटमार्फत बाँदर लखेट्ने योजना बनाएको हो । उक्त गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले व्यक्तिगत बाँदरले जनतालाई हैरानी दिएकाले रोजगार कार्यक्रमको बजेट यसमा खर्च गर्न लागेको बताए ।
‘हाम्रो गाउँमा बाँदर धेरै छन्, किसानलाई हैरान पारेका छन्, प्रधानमन्त्री रोजगार कार्यक्रममा आएको रकमले बाँदर लखेट्ने काम गराउने योजना छ,’ उनले भने ।
माथागढी गाउँपालिकाले वडैपिच्छे दुई–दुई लाख बाँडे पनि हालसम्म वडा नं. ८ ले मात्रै काम सुरु गरेको छ । तिनाउ गाउँपालिकाले बाँडेको बजेटअनुसार कार्यक्रम सुरु भए–नभएको जानकारीसमेत लिएको छैन । ‘रकम दिएको हो, वडाध्यक्षहरूले के गरेका छन् बुझ्नुपर्छ,’ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती भन्छन्, ‘दालचिनी र अम्रिसो रोप्ने भन्ने निर्णय भएको थियो ।’
प्रतिक्रिया दिनुहोस