काठमाडौं । केही वर्ष पहिलेसम्म विश्वविद्यालयका अध्यापकले मात्रै धेरै जसो विद्यावारिधि (पीएचडी) गर्ने गरेको देखिन्थ्यो । केही वर्ष यता विद्यालयका प्रधानाध्यापक अर्थात् हेडसरहरूमा समेत विद्यावारिधि ‘क्रेज’ देखिन थालेको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकमा देखिन थालेको विद्यावारिधि आकर्षणले शिक्षाको गुुणस्तरमा समेत सकारात्मक प्रभाव पार्न सक्नेछ ।
काठमाडौँको नीर वाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. जानुका पौडेलले नेपाल संस्कृत विश्वविद्यालयबाट साढे दुई वर्ष पहिले नेपाली विषयमा विद्यावारिधि पूरा गरेका छन् । चितवनको भीमोदय माध्यमिक विद्यालयका प्रअ डा। हरिप्रसाद कँडेलले पनि व्यवस्थापन विषयमा पीएचडी उपाधि हासिल गरेपछि पनि विद्यालयलाई निरन्तर नेतृत्व गरेका छन् । यति मात्र होइन पीएचडी तहको उपाधि लिन विश्वविद्यालयमा आबद्ध हुने क्रम निकै बढेको छ । हालै मात्र काठमाडौँको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रअ हेरम्बराज कँडेल त्रिभुवन विश्वविद्यालयबाट पीएचडीका अध्ययनका लागि औपचारिक रूपमा आबद्ध हुनुभएको छ । यो क्रम पछिल्लो समय निकै बढेको छ ।
कक्षाकोठामा सकारात्मक प्रभाव
नील वाराही माविका प्रअ डा. पौडल आफूले पीएचडी उपाधि लिएपछि कक्षाकोठा, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकमा समेत यसले सकारात्मक प्रभाव पारेको अनुभव सुनाउँछन् । कक्षाकोठामा जिम्मेवारी थपिएको र अध्यापनको क्रममा समेत आत्मबल बढेको महसुस भएको उनी बताउँछन् । विद्यालयका शिक्षक तथा महिला शिक्षकमा समेत अध्ययन गर्ने रुचि बढेको आफूले पाएको जानकारी उनले दिए । आफ्ना धेरै सहकर्मीले एमफिल तहको अध्ययनमा समेत जुटेको उनी बताउँछन् । यसबाट सामुदायिक विद्यालयको साख बढाउन मद्दत पुग्ने जनाइएको छ ।
चितवनस्थित भीमोदय माध्यमिक विद्यालयका प्रअ डा. कँडेल यसबाट आफूमा आत्मविश्वास बढेको बताउँछन् । यसले व्यक्तिका साथै सम्बद्ध विद्यालयको विकासका लागि समेत सहयोग पर्ने उनी बताउँछन् । शिक्षकहरू विश्वविद्यालयको पीएचडी कार्यक्रममा आबद्ध हुने क्रमसमेत पछिल्लो समय निकै बढेको जनाइएको छ तर कति जना प्रधान अध्यापकले विद्यावारिधि गरेका छन् भन्ने तथ्याङ्क भने कतै छैन ।
सङ्घर्षबाट लिएको उपाधि
सामुदायिक विद्यालयका शिक्षक तथा प्रधानाध्यापकलाई पीएचडी कार्यक्रमका लागि कुनै सुविधा उपलब्ध गराइएको छैन । अध्ययन बिदा या अन्य खालको सुविधाबाट शिक्षकहरू वञ्चित रहेको राजधानीको रत्नराज्य विद्यालय बानेश्वरका पूर्वप्रधानाध्यापक डा। गीता खरेल बताउँछन्। उनले त्रिभुवन विश्वविद्यालयबाट आठ वर्ष अघि पीएचडी उपाधि लिँदा धेरैले किन धेरै दुःख गर्नुभएको भन्थे तर मैले ज्ञान लिने सिक्ने, जान्ने नै जीवन त रहेछ नि भनेर उपाधिका लागि मोहित भएको हो, पूर्वप्रअ काफ्ले भन्छन् । शिक्षक अनुसन्धानमा केन्द्रित भए त्यसले कक्षाकोठा र विद्यार्थीमा नयाँ कुरा सिक्न जान्न प्रेरित गर्ने भएकोले सामुदायिक विद्यालयका प्रधानाध्यापकको पीएचडी गर्ने क्रमबाट आफू खुसी भएको उनी बताउँछन् ।
त्रिभुवन विश्वविद्यालयले अध्यापकलाई वृत्ति विकासमा पीएचडीका लागि अलगै अङ्क दिने प्रावधान छ तर शिक्षकको वृत्ति विकासमा पीएचडीको कुनै अङ्क दिने प्रावधान छैन । विश्वविद्यालयले सुविधा दिएर गरिएको पीएचडीभन्दा आफ्नै सङ्घर्षले गरेको उपाधिबाटै आफू सन्तुष्ट भएको डा। खरेल बत९ाउनुहुन्छ । प्रअ र पीएचडीको दोहोरो जिम्मेवारी हुँदा पीएचडी पूरा गर्न केही वर्ष समय लिएको उनको अनुभव छ ।
प्रधानाध्यापकहरू बिस्तारै पीएचडी उपाधिका लागि क्रियाशील रहेको विषयले शिक्षकमा सकारात्मक सन्देश गएको र यसबाट सार्वजनिक शिक्षाको सुदृढीकरणमा सहयोग पुग्ने हटौँडास्थित बालज्योति माध्यमिक विद्यालयका माध्यमिक शिक्षक श्रीराम दाहाल बताउँछन् । यसले सार्वजनिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकमा उच्च शिक्षाको अध्ययनमा थप रुचि जगाउने विश्वास उनले व्यक्त गरे ।
शिक्षकको योग्यता बढ्नु सकारात्मक
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतम सार्वजनिक विद्यालयका प्रधानाध्यापकमा पीएचडी गर्ने क्रम बढ्नु सकारात्मक भएको र यसका लागि सरकारले सबैलाई प्रेरित गर्ने बताए । शिक्षकहरू उपाधि हासिल गरेपछि शिक्षण पेसामै निरन्तर रहने अवस्था हुन सके त्यसले कक्षाकोठामा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ । शिक्षकको योग्यता बढ्दा स्वाभाविक रूपमा त्यसले विद्यार्थीको सिकाइ सहजीकरणमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । सरकारले सार्वजनिक विद्यालयका शिक्षकको शैक्षिक योग्यता बढाउन स्नातकोत्तर तहसम्म मात्रै अध्ययन बिदा दिने गरेको छ । पीएचडीका लागि यस खालको कुनै योजना नभएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस