
काठमाडौं । नेपालमा क्लिन फिड लागू गर्न पर्छ भनेर माग भएको ११ वर्षपछि लागू भएको छ । २०६६ सालमा नेपाल विज्ञापन संघ र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले संयुक्त रुपमा क्लिन फिड लागू गर्न पर्छ भनेर माग गरेको थियो ।
नेपाल सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम यहि कात्तिक ७ देखि विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू हुने भएकाले सहयोगका लागि सम्बन्धित पक्षलाई आह्वान गर्दै नेपालमा क्लिन फिड लागू भएको आधिकारी जानरकारी गराएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विहीबार विज्ञप्तिमार्फत उक्त कानून कार्यान्वयनका लागि विज्ञापन बोर्डको गठन भइसकेको छ र अनुगमनका लागि जिम्मेवारीसहितको संस्थागत प्रबन्ध गरिसकिएको जनाएको छ ।
ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिदेखि उक्त व्यवस्था लागू गर्न गराउन र अन्यथा कानूनअनुसार हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोकर्णमणि दुवाडीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विसं २०७६ कातिक ८ गतेदेखि लागू भएको सो ऐनको दफा ६ अनुसार एक वर्षमा बल्ल विदेशी च्यानलहरुले विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था गर्न सकेको हो ।
नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने हुन्छ । यो ऐन प्रारम्भ हुँदाका बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने बनाउनु पर्ने जारी सूचनामा उल्लेख छ ।
विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाउने कानूनी व्यवस्था छ । क्लिन फिडको अर्थ विज्ञापनरहित टेलिभिजन च्यानल हो । नेपालमा हाल आइरकेका विदेशी टिभीहरु पेड च्यानलहरु भएकाले ती विदेशी च्यानलले नेपालको बजारमा निशुल्क विज्ञापन प्रशारण गरिरहेका छन् । क्लिन फिड लागू भएपछि उनीहरुले विज्ञापनरहित सामग्री दिनुपर्ने हुन्छ ।
विश्वभरी ‘पे च्यानल’ र ‘फ्रि टु एयर’ गरि दुई मोडलमा टिभी च्यानलहरु प्रशारण हुने गरेका छन । पे च्यानल हो भने त्यसका लागि ग्राहकले शुल्क तिर्नुपर्छ । तर, च्यानलले विज्ञापन बजाउन पाउँदैन । यसैलाई क्लिन फिड भनिन्छ ।
यदि ‘फ्रि टु एयर’ हो भने त्यसमा विज्ञापन बजाउन पाइन्छ । तर, ग्राहकबाट कुनै पनि शुल्क लिइँदैन । नेपालमा भने भारतीय च्यानलहरुले यी दुवै मोडल अपनाएका छैनन् । थिएनन । एकातर्फ शुल्क पनि लिएका छन्, अर्कोतिर विज्ञापन हेर्न पनि बाध्य पारिरहेका छन् । सीएनएन, बीबीसी जस्ता अन्तर्राष्ट्रिय च्यानलहरु भने क्लिन फिडमा प्रशारण भइरहेकै थिए ।
अहिले नेपाल सरकारलाई वार्षिक ७ लाख तिरेर विदेशी च्यानलहरु नेपालमा प्रशारण हुन्छन् । यही शुल्कबाट भारतीय टेलिभिजन सञ्चालकहरुले अर्बाैंको विज्ञापन देखाइरहेका थिए । क्लिन फिड लागू भएपछि यो बन्द भएको छ र नेपालको बजारमा विज्ञापन बढ्ने अनुमान गरिएको छ ।
अब नेपाली टीभिमा प्रशारण भइरहेका विदेशी सेलिब्रेटीले अभिनय गरेका भिडियो र नेपाली पत्रपत्रिका उनीहरुका तस्विरहरु आउने गरेका थिए तर, अब क्लिन फिड लागू भएपछि यस्ता कामहरु बन्द हुने छन् ।
यसले अब नेपाली कलाकारले विज्ञापन क्षेत्रमा पनि थप काम पाउने छ र नेपाली पहिचानको विज्ञापन बन्ने छ ।
प्रतिक्रिया दिनुहोस