aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

सैनिक मञ्चमा फूलपाती बढाइँ, मञ्चभित्र स्यानिटाइजर टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ कार्तिक २०७७
सैनिक मञ्चमा फूलपाती बढाइँ, मञ्चभित्र स्यानिटाइजर टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा  आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक भएकी छिन । समारोहमा नेपाली सेनाको टुकडीले उनलाई  सलामी अर्पण गरेको थियो । संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति समेत हुन ।

 सो अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ ग¥यो । तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरियो । बढाइँ कार्यक्रममा  सैनिक हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । समारोहमा सैनिक ब्याण्डले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’  बोलको राष्ट्रिय गीत र  दुर्गा भजनको धुन प्रस्तुत ग¥यो ।

  कोभिड–१९ को संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएको हो । यस पटक  बढाइँमा थोरै कार्यक्रम सामेल गरिएकाले छोटो मात्र होइन, कोभिड–१९ जोखिमका कारण पाहुनाको संख्या सीमित तुल्याइएको थियो । बढाइँ हेर्न आमन्त्रण गरिएका पाहुनालाई सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था गरिएको थियो । समारोहमा उपस्थित सबै पाहुनालाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गराइएको थियो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत समारोहमा उपस्थित रहेका थिए । 

उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रिगण, मुख्यसचिव शंकरदास वैरागी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि फूलपाती बढाइँ हेर्न सैनिक मञ्च पुग्नुभएको थियो । उहाँहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत गरेका थिए । 

  बढाइँ कार्यक्रमको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बढाइँ हेर्न विगतमा जस्तो टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो देखिन्नथ्यो । 

प्रतिक्रिया दिनुहोस