aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

‘खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ कार्तिक २०७७
‘खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र  स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत हुने स्मरण गराउँदै मन्त्रालयले सबै सरकारी, सामुदायिक, निजी, गैरसरकारी अस्पताल र मेडिकल कलेजलाई खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको निःशुल्क उपचार गर्न निर्देशन दिएको हो ।
 
 कतिपय अस्पतालले कोभिड–१९ का बिरामीलाई भर्ना गर्दाको रकम माग गरेको, रकम जम्मा गर्न नसक्नेलाई उपचार सेवाबाट वञ्चित गरेको र अस्पतालले रकम जम्मा गर्न सूचना सार्वजनिक गरी खर्च व्यहोर्न नसक्ने बिरामी उपचार पाउनबाट वञ्चित भएको गुनासो आएको थियो । 
 
 मन्त्रालयको आइसिएस कोअर्डिनेटर डा गुणराज लोहनीले आइतबार  विज्ञप्ति जारी गर्दै सरकारले तोकेका लक्षित वर्गका बिरामीको उपचार नगरी  स्वास्थ्यमा असर पर्न गएमा अस्पताल स्वयं जिम्मेवार हुने बताएका छन ।

उनले गरीब, विपन्न, अशक्त, असहाय र  ज्येष्ठ नागरिकको उपचार नेपाल सरकारले निःशुल्क गर्ने र सोका लागि बिरामीका तर्फबाट स्वयं घोषणा भए मात्रै पनि मान्य हुने बताउनुभएको छ । लक्षित वर्गको उपचार खर्च सकारले व्यहोर्ने पनि उनले प्रष्ट पारेका छन ।

प्रतिक्रिया दिनुहोस