खोटाङ । जीप दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएको खोटाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
सोमबार साँझ ७ बजेतिर उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप बराहापोखरी गाउँपालिका– ५ सोह्रखानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा बराहापोखरी गाउँपालिका– ६ का ४५ वर्षीय दक्षुमान राई, बराहापोखरी–६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राई रहेका छन् ।
दुर्घटनामा मृतक बृहस्पतिका श्रीमान पर्ने १८ वर्षीय छत्रबहादुर राई, उनकै ९ महिने बच्चा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस