काठमाडौं । सुर्खेतबाट बाहिर ढुवानी हुँदै गरेको शंकास्पद खाद्यान्न बिहीबार सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । खाद्य संस्थानको चामल बिक्री गर्न लागिएको आशंकामा सुब्बाकुनाबाट चामल नियन्त्रणमा लिइएको हो ।
उक्त चामल ट्रकबाट भक्तपुर लैजान लागिएको थियो । ट्रकमा २ सय ५० क्विन्टल चामल रहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र भट्टले जानकारी दिए । वीरेन्द्रनगरको दुर्गा भगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सका नाममा बिल बनाएको छ । प्रतिकिलो ४२ रुपैयाँका दरले बिल काटिएको छ । दुर्गा भवानी नेपाल खाद्य संस्थानको खाद्यान्न ढुवानीकर्ता व्यापारिक फर्म हो ।
वासुदेव शर्माको स्वामित्वको सप्लायर्सले कर्णालीका हिमाली जिल्लामा ढुवानीको जिम्मा लिएको छ । संस्थानको चामल बेच्न लागिएको शंका गरिएकाले ट्रकसहित चामल समातिएको एसपी भट्टले बताए । वीरेन्द्रनगरस्थित सप्लायर्सको गोदामसमेत सिल गरिएको उनको भनाइ छ । ‘सामान्यतया सुर्खेतबाट बाहिर खाद्यान्न ढुवानी हुँदैन, यति ठूलो परिमाणमा बाहिर लैजान खोजिनु शंकास्पद छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस