aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

सामाजिक सञ्जालमा गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा

  • रासस
    रासस
  • शुक्रबार, १४ कार्तिक २०७७
सामाजिक सञ्जालमा गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ ।
 
गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचार सार्वजनिक गराएको भन्दै पशुपतिनाथका पालोवाला भण्डारीसमेत रहेका केदारमानले यही कात्तिक २ गते सामाजिक सञ्जालमा कोषाध्यक्ष डा थापाको तस्बीरमा कालो पोती काटेर गाली बेइज्जतीको शब्दसहित पोष्ट गरेका थिए । 

 कोषाध्यक्ष डा थापाले कात्तिक ४ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा भण्डारीले साइबर अपराधसहित आफ्नो गाली बेइज्जती भएको भन्दै उजुरी दर्ता गर्नुभएको थियो । उजुरी दर्ता भएपछि परिसरले कात्तिक १२ गते  भण्डारीलाई गुह्येश्वरी मन्दिर परिसरबाट पक्राउ गरेको थियो । भण्डारीलाई साइबर अपराधमा कात्तिक १६ गते  अदालत पेश गर्ने तयारी भएको परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले राससलाई जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस