aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

फूलको माग ४० प्रतिशत घट्ने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, १७ कार्तिक २०७७
फूलको माग ४० प्रतिशत घट्ने

काठमाडौं । फूल उत्पादक किसान तथा व्यवसायीले यस वर्ष भारतीय फूल तथा माला आयातमा रोक लगाउने अभियान थालेका छन् । कोभिड–१९ कारण फूलको माग ४० प्रतिशतसम्म घट्ने अवस्था र नेपालमै पर्याप्त फूल उत्पादन भएकाले भारतबाट आयात हुनेबित्तिकै नेपालमा उत्पादिन फूलले बजार नपाउने भन्दै किसान तथा व्यवसायीले आयातमा रोक लगाउने अभियान थालेका हुन्ध्र फ्लोरिकल्चर एसोसिएसन नेपालले फूल आयात रोक्ने अभियानअन्तर्गत यही साता भैँसेपाटीबाट सयपत्रीका १० हजार माला जफत गरी नष्ट गरेको जनाएको छ । 

एसोसिएसनका अध्यक्ष कुमार कसजू (श्रेष्ठ)ले कोभिड–१९ का कारण यस वर्ष तिहारमा बजारमा सयपत्री फूलको माग कम हुने र स्वदेशी उत्पादन राम्रो भएकाले फूल आयातलाई निस्तेज गर्ने अभियान सञ्चालन गरेको जानकारी दिए । उनले भने, “गत वर्षहरूमा जस्तो यस वर्ष फूलको धेरै माग नभए पनि फूल व्यवसायीलाई तिहारले थोरै भए पनि टिक्ने आधार दिन्छ कि भन्ने आशा छ । भारतबाट आयात खुला गरियो भने त सबै लगानी डुब्छ ।”

एसोसिएसनका अनुसार गत वर्ष तिहारमा सयपत्री र मखमली गरी २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा झन्डै १२ लाख सयपत्री र तीन लाख मखमली गरी १५ लाख मात्रै मालाको माग हुने देखिएको छ । अघिल्लो वर्ष २२ लाख माला नेपालमै उत्पादन भएका थिए । यस वर्ष फूल उत्पादन १५ प्रतिशतले बढेको छ ।

एसोसिएसनका अनुसार तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको छ । गएको वर्षको तिहारमा लगभग तीन लाख माला भारतबाट ल्याइएको थियो ।

अध्यक्ष श्रेष्ठले व्यवसायीले यस वर्षको पात्रो हेरेर व्यावसायिक रूपमा फूल लगाएको हुनाले उत्पादन राम्रो र पर्याप्त भएको दाबी गर्नुभयो । उहाँका अनुसार यो वर्ष सयपत्रीको प्रतिमाला ६० देखि ७० रुपियाँ र मखमलीको प्रतिमाला ३० देखि ३५ रुपियाँभन्दा बढी तिर्नु पर्दैन । अध्यक्ष श्रेष्ठले योभन्दा महँगो हुन नदिने एसोसिएसनको नीति रहेको पनि जानकारी दिए ।

अघिल्लो वर्षमा तिहारमा मात्रै १८ करोड रुपियाँको फूलको कारोबार भएकामा यो वर्ष भने बजारमा माग कमी भएकाले कारोबार कम हुने देखिएको छ । एसोसिएसनका अनुसार गत वर्ष झन्डै चार अर्बको फूलको कारोबार गर्ने लक्ष्यसहित लगानी बढाएकामा कोभिडका कारण दुई अर्ब ४२ करोड बराबरको मात्रै कारोबार भयो । चालू आर्थिक वर्षमा तीन अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा छ ।

अध्यक्ष श्रेष्ठले मन्दिर पूजाआजालगायतमा सहज नहुँदाको अवस्थामा समेत हाल दैनिक १० हजारदेखि १५ हजार माला खपत भइरहेको र उत्पादन पनि यो वर्ष राम्रै भएकाले अपेक्षाकृत कारोबार हुने देखिएको बताए । 

फूल मेला प्रभावित
गएको चैत महिनामा गर्ने भनेको फूल मेला प्रभावित भयो । दशैँपछि र तिहार आउन १२÷१५ दिन अघि गरिने मेला पनि यसपटक गर्न सकिने अवस्था नभएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । नियमित सञ्चालन गरिने फूलको मेला गर्न नपाउँदा यसको असर वर्षभरको सिङ्गो व्यवसायमा पर्ने उनको भनाइ छ।

पकेट क्षेत्र बागमती प्रदेश 
फूलमा पकेट क्षेत्र भनेर बागमती प्रदेशलाई चिनिन्छ । उत्पादनको झन्डै ७० प्रतिशत हिस्सा यस क्षेत्रले ओगटेको छ । फूलको खपतको हिसाबले पनि ६० प्रतिशत काठमाडौँ उपत्यकामै हुने गरेको छ । बागमती प्रदेशमा उत्पादित फूल र माला धेरैजसो गण्डकी प्रदेशमा जाने गरेको एसोसिएसनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस