त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सामुदायिक क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ‘अवैधानिक’ भएका छन् ।
दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको स्ववियुको समय पूरा भएको महिनौँ बितिसक्दा पनि नयाँ निर्वाचन हुन सकेको छैन । उनीहरूको कार्यकालसमेत थप नभएकाले अवैधानिक भएका हुन् ।
०७३ फागुनयता विभिन्न समयमा आंगिक तथा सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । फागुनमा निर्वाचन भएका स्ववियुको कार्यकाल सकिएको झन्डै साढे महिना बितिसक्दा पनि नयाँ नेतृत्वका लागि निर्वाचन वा पुरानैको समय थप हुन सकेको छैन ।
त्रिविको स्ववियुसम्बन्धी नियमअनुसार कार्यकारी निर्वाचन गर्न नसक्ने अवस्थामा ६ महिना समय थप गर्न सक्ने व्यवस्था छ । तर, कार्यकारीले अहिलेसम्म समय थपको कुनै निर्णय गरेको छैन ।
त्रिविका विद्यार्थी कल्याण निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले स्वयवियुको कार्यकाल सकिएको र नयाँ निर्वाचन नभएको अवस्था के गर्ने भन्ने निर्णय नभएको बताए ।
०७३ सालमा निर्वाचित स्ववियुका पदाधिकारी समय थप नभए पनि कतिपय स्ववियु अध्यक्षकै हैसियतमा विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।
फागुनमा हुनुपर्ने निर्वाचन यस वर्ष पनि टरेको छ । त्रिवि पदाधिकारीको आलटाल र विद्यार्थी संगठनले रुचि नदेखाएका कारण यस वर्ष कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन भएन ।
फागुनमा स्ववियु चुनाव गर्ने शैक्षिक क्यालेन्डर बने पनि कार्यान्वयन भएन । त्रिवि पदाधिकारीका अनुसार अहिले त्रिविका परीक्षालगायतका कार्यतालिकाका कारण निर्वाचन हुने सम्भावना छैन । त्रिविका पदाधिकारीको कार्यकाल सकिन लागेकाले पनि उनीहरू धेरै विवादमा पर्न चाहेका छैनन् । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस