aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

‘एकताको डोरी चुँडिनु हुन्न’

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, १९ कार्तिक २०७७
‘एकताको डोरी चुँडिनु हुन्न’

काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता ईश्वर पोखरेलले कार्यकर्ता, जनताको भावना र राष्ट्रको आवश्यकताले गरिएको ऐतिहासिक पार्टी एकताको डोरी चुँडिन दिन नहुने बताएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित हेर्ने गरी नयाँ जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री पोखरेलले ऐतिहासिक पार्टी एकतालाई बचाउन त्यसबेला गरिएका सहमतिबाट निर्देशित भएर पार्टी चल्नुपर्ने स्पष्ट पारे । उनले प्रधानमन्त्री निवास बालुवाटारमा गोरखापत्रसँग मङ्गलबार विशेष कुराकानी गर्नुहुँदै भने, “पार्टी एकताका बेला भएका सहमतिबाट निर्देशित भएर चल्नुपर्छ, त्यो भनेको दुई अध्यक्षबीचको सहमति नै हो । अन्य नेताहरूसँग परामर्श, कमिटीमा छलफल र त्यसले गरेको निर्णयका आधारमा अगाडि बढ्नुपर्छ ।”

नेता पोखरेलले सहमतिबाहेक समीकरणको बाटोबाट हिँडियो भने सहमति जुट्न नसक्ने बताए । उनले भने, “सहमतिका आधारबाट होइन, नयाँ समीकरण गरेर आफ्नो चाहना पूरा गर्ने कोशिश हुँदा समस्या देखा परेको हो ।” दुई अध्यक्षबीच भेटघाट, छलफल, सल्लाह भए पनि फेरि अन्यत्र अर्कै समीकरण बन्ने गरेकाले पटक–पटक पार्टीमा समस्या निम्त्याएको उनले बताए । नेकपाभित्रको वर्तमान समस्या अन्तरविरोध जस्तो देखिए पनि विभिन्न स्वार्थको टकराव मात्र भएको उनले स्पष्ट पारे । 

उनले भने, “प्रधानमन्त्री देश र जनताको पक्षमा कसरी काम गर्नुपर्छ भनेर सपना र योजनामा केन्द्रित हुनुहुन्छ । कोही पार्टी एकतापछि गुम्दै गएको आफ्नो हैसियत फेरि व्यवस्थित हुन्थ्यो कि भन्ने स्वार्थमा छन् । पार्टी र राज्यसत्ता प्रयोग गर्दाको सहजता अहिले नपाउँदाको असन्तुष्टि पनि देखिन्छ कतिपयमा । यस्तो हुनु दुखद हो ।” उनले पार्टी एकताका बेला गरिएको सहमतिका आधारमा नबढ्दा पार्टीमा समस्या देखिएको चर्चा गरे।

वर्तमान समस्या समाधानका लागि दुई अध्यक्षबीचमै सहमति खोज्नुपर्नेमा जोड दिँदै उनले भने, “पूर्वसमूहभित्र रहेका विगतका पक्षधरतामा आधारित समीकरण बनाउन थालिएकाले समस्या भएको हो । पूर्वमाओवादीभित्रको समीकरणमा वा पूर्वएमालेभित्रको पक्षधरताका आधारमा खेल्न थालियो भने पार्टी एकता गर्दाको बेलाको सहमति र मार्गचित्र विपरीत हुन्छ ।” उनले पार्टी एकता ठीक ढङ्गले नचल्ने हो भने सल्लाहले नै आफ्नो बाटो लागौंँ भन्ने स्वाभाविक प्रसङ्गलाई पार्टी प्रवक्ताले बङ्ग्याएर मिडियालाई प्रेषित गरेको बताए । पार्टी स्थायी कमिटीले गरेको निर्णयहरूका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने सर्वसम्मत निर्णय सचिवालयमा भएकोसमेत उहाँले चर्चा गरे । निश्चित मापदण्ड र आधारमा प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरिरहँदा आफूलाई काममा सहजता हुने गरी गर्न पाउनुपर्ने उनले बताए। 

पार्टीभित्रका विभिन्न धार र पक्षधरको प्रतिनिधित्व गराउने हिसाबमा मन्त्रिमण्डल पुनर्गठन भयो भने त्यस्तो अवस्थामा देश र जनताप्रति प्रधानमन्त्री जवाफदेही बन्न अप्ठ्यारो अवस्था आउने उनले बताए । उनले पार्टीभित्र पक्षधर र समूहको भागबण्डा नमिल्दा मन्त्रिमण्डल पुनर्गठन हुन नसकेकोसमेत स्पष्ट पार्नुभयो । संवैधानिक निकाय, राजदूत लगायत नियुक्तिमा पार्टी कमिटीले फलानो व्यक्ति भनेर सिफारिस गर्नु उचित नहुने उपप्रधानमन्त्री पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस