काठमाडौं । बिमा समितिको निर्देशनअनुसार बिमा कम्पनीले बिहीबारदेखि नै कोरोना बिमाको सबै दाबीको भुक्तानी सुरु गर्ने भएका छन् । यस विषयमा बिमक संघको बैठकले बुधबार निर्णय गरिसकेको छ । बिमा पुलले बिहीबारदेखि नै सम्बन्धित कम्पनीमा पठाउन सुरु गरे पनि बिमितले भुक्तानी पाउन थप २/३ दिन लाग्ने बताइएको छ ।
बैठकको सहमतिअनुसार बिमा कम्पनीले मापदण्ड पुगेका सबै दाबी बिमा (पुल) मा पठाउने, पुलले ५ दिनभित्र सबै प्रक्रिया पूरा गरी सम्बन्धित कम्पनीमा फिर्ता पठाउने र त्यसको दुई दिनभित्र कम्पनीले बिमितलाई भुक्तानी दिनुपर्नेछ । सरकारी अस्पतालमा गरिएको रिपोर्टको दाबी भुक्तानी भइरहेको कम्पनीहरूको दाबी छ ।
अर्थ मन्त्रालयको निर्देशनका आधारमा बिमा समितिले मंगलबार नै कम्पनीहरूलाई सात दिनभित्र सबै बिमितलाई भुक्तानी दिन निर्देशन दिएको थियो । सोही निर्णय कार्यान्वयनका लागि बुधबार बैठक बसेको थियो ।
स्रोतका अनुसार हाल बिमा पुलमा करिब २ हजार ३ सय दाबी परेका छन् । तीमध्ये १ हजार ८ सय वटा दाबीको प्रक्रिया पूरा भइसकेको छ । प्रक्रिया पूरा भएका सबै दाबी बिहीबार नै सम्बद्ध कम्पनीमा पठाइनेछ । कम्पनीहरूमा परेका कुल दाबीमध्ये करिब ४० प्रतिशतको कागजात नपुगेको बताइएको छ ।
गत भदौअघि दाबी पेस गरेका बिमितले भुक्तानी लिन कोरोना पोजिटिभ देखिएको पीसीआर रिपोर्ट, बिमालेखको प्रतिलिपि, नागरिकता प्रतिलिपि र आवेदन आवश्यक पर्छ । भदौ २८ पछि दाबी परेका बिमितले बिमालेखको प्रतिलिपि, पूर्ण रूपमा भरिएको दाबी फारम, पीसीआर परीक्षणको रिपोर्ट, घरमै आइसोलेसनमा बसेको अवस्थामा स्थानीय निकायको सिफारिस, अस्पतालमा उपचार गरेको भए डिस्चार्ज रिपोर्ट, संक्रमितको परिचय खुल्ने आधिकारिक परिचयपत्र र अस्पतालमा उपचार गरेको भए उपचारको बिल आदि बुझाउनुपर्छ ।
गत सातासम्म १३ हजार ३ सय ५३ वटा दाबी परेका छन् । जसमध्ये १ हजार ४ सय ४१ वटा दाबी मात्र भुक्तानी भएको छ । यो कुल परेको दाबीको १०.७९ प्रतिशत मात्र हो । कुल परेको दाबी करिब १ अर्ब २८ करोड रुपैयाँ बराबर हो । त्यसको १०.६४ प्रतिशत (१३ करोड ७२ लाख ५० हजार रुपैयाँ) मा मात्र दाबी भुक्तानी भएको छ ।
बिमा कम्पनीले कुल १ लाख ८१ हजार ७ सय ९५ वटा बिमालेख बिक्री गरेका छन् । ती बिमालेखमार्फत १७ लाख ७० हजार ९ सय २६ जनाको कोरोना बिमा भएको छ । ती बिमामार्फत कम्पनीले १ अर्ब १ करोड ९१ लाख ७४ हजार ६ सय ८२ रुपैयाँ संकलन गरेका छन् । बिमालेख बिक्रीबाट उठेको प्रिमियम (बिमा शुल्क) गत सातासम्म परेको कुल दाबीको रकमभन्दा कम हो । कारोना बिमा मापदण्ड २०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ । संशोधित मापदण्डमा बिमा पुल (बिमक संघ) बाट मात्र दाबी भुक्तानी गर्न एकद्वार नीतिको व्यवस्था गरिएको छ । त्यसको व्यवस्थापन शिखर इन्स्योरेन्सले गरेको छ ।
कोभिड–१९ को जोखिम सुरक्षणका लागि भन्दै गत वैशाख ७ देखि बिमालेख बिक्री सुरु गरिएको थियो । निर्जीवन बिमा कम्पनीले उक्त बिमालेख बिक्री गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस