काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणाधिन बञ्चरेडाँडा क्षेत्रका स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । स्थानीयवासीसँग विगतमा भएको सम्झौता अनुसार पूर्वाधार विकासमा ध्यान नदिएको भन्दै उनीहरुले आन्दोलन घोषणा गरेका हुन् ।
सम्झौताअनुसार पूर्वाधार विकास नगरी बन्चरे डाँडामा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न लागिएको भन्दै प्रभावित क्षेत्रका युवाहरुले आन्दोलनको घोषणा गरेका छन् । सरकारी पक्षले सम्झौता मात्रै गर्ने, तर कार्यान्वयन नगरेर स्थानीयको आँखामा छारो हाल्ने काम गरेको भन्दै प्रभावित क्षेत्रका विभिन्न युवा क्लवहरुले पुराना सम्झौता कार्यान्वयन गरेर मात्रै बन्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न माग गरेका छन् ।
सो क्षेत्रमा क्रियाशील ३ वटा क्लब ककनी प्रगतिशील युवा क्लब, करुण युवा क्लब, रोयल युवा क्लवले आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले आइतबार आन्दोलन घोषणा गर्दै बञ्चरेडाँडाको साइट निर्माण रोक्नेदेखि सिसडोलको फोहोर लैजान नदिनेसम्मको चेतावनी दिएका छन् ।
ककनी प्रगतिशील युवा क्लबका अध्यक्ष दीपेश ढुंगानाले आफूहरुले अहिले दवावमूलक कार्यक्रम गर्नेगरी आन्दोलन घोषणा गरेको बताउँदै मंसिर ४ गतेसम्म माग पूरा हुने ग्यारेन्टी नभएमा ल्यान्डफिल्ड साइटको निर्माण रोक्ने र त्यसपछि पनि माग पूरा नगरे सिसडोलमा फोहोर लैजान नदिने बताए ।
उनले सम्झौता गरेर आँखामा छारो मात्रै हाल्न खोज्ने तर कार्यान्वयन नगर्ने स्थानीयको आँखामा छारो हाल्ने सरकारी पक्षको नियत देखिएको भन्दै आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए । सम्झौता किन कार्यान्वयन हुन नसकेको हो, त्यसको जवाफ दिनुपर्यो । समस्यालाई बेवास्ता गरे फोहोर फाल्न रोक्नसमेत बाध्य हुन्छौं ।’
विगत १६ वर्षदेखि काठमाडौंको फोहोर सिसडोलमा फालिँदै आएको छ । सिसडोल भरिन लागेपछि धादिङ र नुवाकोटको सीमामा पर्ने यो क्षेत्रमा फोहोर व्यवस्थापनको योजना अघि बढाउँदै ल्यान्डफिल्ड साइट निर्माण सुरु गरिएको हो । उनीहरुले स्थानीय जनप्रतिनिधिहरुले समेत सम्झौता कार्यान्वयनमा ध्यान नदिएको गुनासो समेत गरे ।
मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव नपर्ने गरी फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने र ल्याण्डफिल साइटका प्रभावित जनताले स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकारको सरकार, काठमाडौं महानगरपालिकासहित अन्य नगरपालिकाहरुले सुनिश्चितता नगर्दासम्म आफूहरुको आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस