
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । शाक्यलाई ऊर्जा मन्त्रालयले सोमबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । ऊर्जा मन्त्रालयले शाक्यलाई अहिले निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेपनि केही समय पछि भने उनलाई कार्यकारी निर्देशक बनाउने तयारी गरेको छ । शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिरकणमा कार्यकारी निर्देशक पद खाली छ । घिसिङको कार्यकाल सकिएपछि ऊर्जा मन्त्रालयले निमित्त कार्यकारी निर्देशकको जिम्मा लेखनाथ कोइरालालाई दिएको थियो ।
मन्त्रालयले शाक्यलाई कार्यकारी निर्देशक बनाउने उद्देश्य अनुसार नै प्राधिरकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।
शाक्यलाई एनईए इन्जिनियरिङकम्पनीबाट प्राधिकरणमा तानेर सो पदको जिम्मा लगाइएको हो । शाक्यले नेतृत्व गरिरहेको एनईए इन्जिनियरिङ कम्पनीको सहायक कम्पनी हो । परामर्श एवम् इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै २०७३ मा स्थापित कम्पनीको प्रवन्ध निर्देशकका रुपमा काम गर्न कुलमान घिसिङले नै शाक्यलाई पठाएका थिए ।
ऊर्जामन्त्री वर्षमान पुनले शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए । यसअघि प्राधिकरणमा तहगत जिम्मेवारीका विषयमा असन्तुष्ट रहेका शाक्य आफुभन्दा कनिष्ठ लेखनाथ कोइरालालाई निमित्त कार्यकारीको जिम्मेवारी दिएपछि कार्यालयमा उपस्थित भएका थिएनन् ।
पूर्वको इलाम बजार स्थायी घर भएका शाक्यले बिई गरेका छन् । उनले प्रणाली सञ्चालनमा स्नातकोत्तर पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यको विशेष पहलमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउन लागिएको भएपनि हाललाई निमित्त कार्यकारी दिइएको हो । शाक्यले राधा ज्ञवाली ऊर्जा मन्त्री हुँदा चिलिमेबाट कुलमानलाई हटाउन मन्त्रीलाई सहयोग गरेका थिए । त्यसबेला मन्त्री ज्ञवालीले चिलिमेको सञ्चालक समितिमा ल्याएर शाक्यलाई मध्यभोटेकोशी जलविद्युत आयोजनाको अध्यक्ष बनाएकी थिइन् ।
कुलमानको कार्यकाल सकिएपछि नेपाल विद्युत प्राधिकरण भदौ २९ देखि नेतृत्व विहीन छ । ऊर्जा मन्त्री वर्षमान पुनले कुलमानलाई प्राधिकरणमा पुन ल्याउनु पर्ने आवाज उठदै आएको थियो । तर प्रधानमन्त्री ओलीले कुलमानलाई निरन्तरता दिन नसकिने प्रतिक्रिया दिएपछि शाक्यको पहल भएको हो । कुलमानलाई पुन नियुक्ति गर्ने विषयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ओलीलाई दवाव दिएका थिए । तर, प्रधानमन्त्री ओलीले प्रचण्डका कुरा सुन्न तयार देखिएका थिएनन् र पत्नी राधिकाको नातेदारलाई सो पद सुम्पिएको हो ।
प्रतिक्रिया दिनुहोस