aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
महासंघ चुनाव

के महासंघमा सहमति जुट्ला त !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ कार्तिक २०७७
के महासंघमा सहमति जुट्ला त !

काठमाडौं । आगामी मंसिर ११, १२ र १३ गते हुने निजी उद्यमी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ साधारणसभा तथा नयाँ कार्यसमिति चयन हुँदैछ । साधारणसभा नजिकिदै जाँदा महासंघका पूर्व अध्यक्षहरू भने अहिलेको विषम परिस्थितिमा उद्यमी व्यवसायीको अहम भुमिका हुने भन्दै सहमतिमा नयाँ नेतृत्व चयन गर्न लागि परेका छन् ।  

केहि दिन अघि मात्रै महासंघ पूर्वअध्यक्षहरूले दुबै प्यानललाई सहमतिमा जानका लागि दवाव दिन छलफल गरेका थिए । तर, सहमति खोज्ने कुरा निर्णयको चरणमा भने पुग्न सकेको छैन । अहिले दुबै प्यानल जिल्ला दौडाहमा रहेकाले अब तिहार पछि फेरि हामी सबै पूर्वअध्यक्षहरू मिलेर सहमतिको अन्तिम पहल गर्ने महासंघ पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले बताए ।

‘यो विषम परिस्थितिमा उद्योगीहरूको छाता संगठनले अहम भूमिका खेल्नु पर्छ भन्ने हाम्रो ठहर हो,’ उनले भने ‘ त्यो भूमिका खेल्नलाई पहिला महासंघ बलियो हुनपर्छ । यो परिस्थितिमा एक अर्काको प्रतिस्पर्धी भएर चुनावी मैदानमा जानुभन्दा सर्वसहमतिमा जानु उपयुक्त हुन्छ ।’

महासंघ भनेको उद्यमी व्यवसायीहरूको सर्वपरी हक र हितका लागि काम गर्ने संस्था हो । त्यसैले पनि कोरोना महामारीको यो परिस्थितिमा एक अर्कामा भिड्नु भन्दा सहमति गर्नु राम्रो हुने उनले बताए । 

महासंघका पूर्वअध्यक्षहरू सबैले गत ५/६ महिनादेखि नै सहमतिमा महासंघको नेतृत्व बनाउन लागि परेको छन् । यस अघि महासंघ विधान संशोधनको विषयलाई पनि पूर्व अध्यक्षहरूकै सल्लाह, सुझाव तथा दवावका कारण रोकिएको थियो । त्यति बेला अभिभावकको भुमिका निर्वाह गरेका पूर्व अध्यक्षहरूले फेरि महासंघलाई अझ बलियो बनाउन सहमति खोज्न लागेका हुन् ।

पूर्व अध्यक्षहरूले सहमति खोजिरहँदा नेतृत्वमा जानेहरूमा सहमति भएपनि अन्यलाई भने कसरी समायोजन गर्ने विषयमा कुनै गृहकार्य भएको छैन । चुनावी मिति नजिकिदै जाँदा खोजिएको सहमतिले के सबै पदाधिकारीलाई सहि स्थान र अवसर दिन सक्छ भन्ने गहन प्रश्न उब्जिएको छ । हुनत माथिल्लो नेतृत्वमा सहमति जुटाउन सकियो भने अन्य पदाधिकारीलाई मिलाउन त्यति अप्ठ्यारो नपर्ला । 

यद्यपि उम्मेदवारी नै दर्ता गरिसकेको यो अवस्थामा सहमति खोज्ने काम भने त्यति सहज देखिदैन । कसले पद वा नेतृत्व त्याग्ने त । ढकाल प्यानलले वा प्रधान प्यानलले । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । उद्यमी चन्द्रपसाद ढकाल र अर्का उद्यमी किशोर प्रधानको । उनीहरूले आफ्नो उम्मेदवार खडा गरिसकेका छन् । 

ढकाल र प्रधानबीच सहमति जुटेपनि अन्य उपाध्यक्षका लागि भने कसले त्याग्ने त । विशेष गरेर वरिष्ठ उपाध्यक्ष र अन्य उपाध्यक्षहरू चुनाव आउने एक वर्ष अघिदेखि नै चुनावी तयारीमा जुटेका हुन्छन् । तर, पछिल्लो पहल कदमीले अहिलेको विषम परिस्थितिलाई केही सहज थपे पनि लोकतान्त्रिक पद्धतीको मर्मलाई भने आत्मसाथ गर्दैन । 

नेतृत्व भनेको चुनावी प्रतिस्पर्धाबाट नै छनोट हुनुपर्छ भन्ने मान्यता बोक्ने पनि महासंघभित्र कम छनैन् । उनीहरूले यस अघि पूर्व अध्यक्षहरूले गरेको पहललाई पनि प्रजातान्त्रिक मुलुकको अभ्यास विपरीत भएको टिप्पणी गर्दै आएका छन् । 

के महासंघका पूर्व अध्यक्षहरूले भोलि गराउन सक्ने सहमतिले महासंघमा वर्षौदेखि योगदान दिँदै आएका उद्यमी व्यवसायीहरूलाई न्याय देला छ । कतै सहमति जुटाउने क्रममा महासंघमा वर्षौदेखि आफ्नो इफोट लगाउँदै आएका र एउटै स्थानमा उभिएका उद्यमीहरूबीच अझ मनमुटाव बढाउने त होइन । कतिपयले सहमतिको नाममा ‘बलिको बोका’ बन्न नसकिने पनि बताउन थालेका छन् । पूर्व अध्यक्षहरूले सहमतिको विषयलाई अघि बढाउँदै गर्दा उनीहरूले यो आवाज निकाल्न थालेका हुन् । 

यद्यपि महासंघ भनेको राजनीतिक गर्ने थलो नभइ विशुद्ध उद्यमी व्यवसायीहरूको संस्था हो र उनीहरूकै संवद्र्धन र प्रवद्र्धनका लागि काम गर्ने संस्थाको रुपमा स्थापित गर्नका लागि भने सहमति हुन पनि आवश्यक छ । नेतृत्व पङ्तीमा उभिएका उम्मेद्वारले आफ्ना साथी तथा सहमर्कीलाई चित्त बुझाएर अघि बढ्न सके भने ‘सुनमा सुगन्ध’ नै हुन्छ । 

सक्षम र सवल नेतृत्व आएमा महासंघको आवाज बलियो बन्ने हो । उनीहरूबीच नै खिचातानी भएका जतिसुकै सवल र सक्षम नेतृत्व भएपनि काम गर्न सक्दैन । संसारमा असम्भव भनेको केही छैन । यसलाई आत्मसाथ गर्दै सहमतिमा दुबै प्यानललाई चित्त बुझाउन सके पूर्व अध्यक्षहरूले सच्चा अभिभावक भएको आत्मसाथ गर्न पनि पाउने थिए । उहाँहरूलाई सफल मिलोस्, हाम्रो शुभकामना ।  
 

प्रतिक्रिया दिनुहोस