aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

ट्रम्प हट्ने निश्चित भएसँगै अमेरिकामा प्रतिवन्धबाट बच्यो टिकटक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ कार्तिक २०७७
ट्रम्प हट्ने निश्चित भएसँगै अमेरिकामा प्रतिवन्धबाट बच्यो टिकटक

एजेन्सी । अमेरिकाको वाणिज्य मन्त्रालयले बिहीबार रातिदेखि टिकटकमाथि लाग्न लागेको प्रतिबन्ध तत्कालको लागि रोकेको छ । ससअघिको आदेशअनुसार बिहीबार रातिदेखि अमेरिकामा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लाग्नुपर्ने थियो ।  

तर वाणिज्य मन्त्रालयले ’कानुनी प्रक्रिया जारी रहेको’ भन्दै प्रतिबन्धको कार्यान्वयनमा ढिलाइ गरेको छ। उसले फिलडेल्फियाको अदालतको आदेशतर्फ पनि इङ्गित गरेको छ । सेप्टेम्बरमा त्यहाँ तीन चर्चित टिकटक प्रयोगकर्ताले अमेरिकामा उक्त भिडिओसम्बन्धी सामाजिक सञ्जालको एपलाई प्रतिबन्धित गर्न नहुने जिकिर गरेका थिए । वाणिज्य मन्त्रालयको पछिल्लो निर्णय टिकटकका निम्ति ठूलो राहत हो। अमेरिकामा उसका १० करोड प्रयोगकर्ता रहेको अनुमान छ । 

सेप्टेम्बरमा टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सले उसको अमेरिकी सम्पत्तिलाई ’टिकटक ग्लोबल’अन्तर्गत राखेर वालमार्ट र ओरकललाई हस्तान्तरण गर्ने घोषणा गरेको थियो । 

राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसको समर्थन पनि गरेका थिए । तर मङ्गलवार टिकटकले विगत दुई महिनामा अमेरिकी सरकारका तर्फबाट आफूलाई कुनै प्रतिक्रिया नदिइएको जनाएको थियो । 

राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकी कम्पनीलाई विक्री गर्नुपर्ने इच्छा व्यक्त गर्दै आएका छन् । उनी तथा विदेशमन्त्री माइक पोम्पेओले पटकपटक अमेरिकी प्रयोगकर्ताको डेटा वा सूचना चिनियाँ सरकारले प्राप्त गर्न सक्ने भनेर दाबी गर्दै आएका थिए। तर त्यसबारे कुनै प्रमाण भने प्रस्तुत गरिएको छैन ।

टिकटकले त्यस्ता दाबी अस्वीकार गर्दै आएको छ । चीनसँग कूटनीतिक तनाव बढेपछि भारतले उक्त एपमाथि प्रतिबन्ध लगाइसकेको छ । पछिल्लो विकासक्रमबारे टिकटकले कुनै टिप्पणी गरिसकेको छैन । 
 

प्रतिक्रिया दिनुहोस