
काठमाडौं । कोभिडका कारण रोजगारी गुमाएकालाई काठमाडौं महानगरपालिकाले श्रममा आधारित रोजगारी दिने भएको छ । महानगरले आज शुक्रबार एक सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । महानगरले कोभिड–१९ का कारण रोजगारी गुमाएका र श्रम गर्न सक्ने महानगरबासीलाई ‘जीवन निर्वाहको लागि पारिश्रमिक कार्यविधि, २०७७’ बमोजिम रोजगारी उपलब्ध गराउन लागेको हो । कोभिड महामारीका कारण दैनिकी धान्न अप्ठ्यारो परेका सबै बेरोजगारलाई रोजगारी दिन लागेको छ ।
महानगरबासीको दैनिक धान्न सजिलो होस् भनेर महानगरले साताको दुई दिन रोजगारी नभएकालाई रोजगारी दिन लागेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘कोभिडका कारण रोजगारी नभए आफ्नो दैनिक धान्न गाह्रो भएका बासिन्दालाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो,’ उनले भने ‘उनीहरूले नेपाल सरकारले तोके अनुसारको पारिश्रमिक पाउने छन् ।’ यसबाट उनीहरूको दैनिक गुजार चलोस् भन्ने हो ।’ अर्को वैकल्पिक व्यवस्था नभएसम्मका लागि महानगरले महानगरबासीलाई रोजगारी दिएर जीवनयापन सहज बनाउन लागेको हो ।’
बरोजगारले आफ्नो सीप र क्षमताअनुसारको काम वडा कार्यालयले सिर्जना गर्नेछ र सम्बन्धित वडा कार्यालयलनै रोजगारी दिनेछ ।’ अर्को वैकल्पिक व्यवस्था नभएसम्म महानगरले उनीहरूलाई साताको दुई दिन रोजगारी दिनेछ ।’ महानगरले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमै कोभिडका लागि स्वास्थ्य उपकरण खरिददेखि बेरोजगारलाई रोजगारी सिर्जना गर्नको लागि ४० करोड बजेट छुट्याएको समेत प्रवक्ता डंगोलले जानकारी दिए ।
रोजगारीका लागि फाराम भर्नुपर्ने गरी फारम महानगरको वेवसाइटमा राखिएको छ । जसमा आफ्नो परिचयसँगै, स्थायी र अस्थायी ठेगाना, उमेर, भाडामा बसेको हो भने घरधनीको नाम र सम्पर्क नम्बर तथा आश्रित परिवारको संख्या तथा सम्भव भए पहिलेको रोजगारदाताको विवरण पनि उल्लेख गर्न भनेको छ ।
सामाजिक संघसंस्थामार्फत खानाको व्यवस्था
महानगरपालिकाको सूचनामा काम गर्न नसक्नेलाई खानाको व्यवस्थाका लागि विभिन्न मानव सेवा आश्रम वा वडामा सम्पर्क गर्न पनि सूचनामार्फत आग्रह गरेको छ । महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारीरिक रूपमा काम गर्न नसक्ने महानगरवासीले महानगरपालिकाको सहकार्यमा संचालित मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध भएकाले त्यसका लागि पनि नजिकका वडा कार्यालय वा सिधै मानव सेवा आश्रममा सम्पर्क गर्न भनिएको छ ।
सूचनामा भनिएको छ, ‘स्वास्थ्य जोखिम, संक्रमणको जोखिम र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा आगामी २ मंसिरबाट बन्द गर्ने निर्णय भएकोले अन्य बन्द संरचनाभित्र स्वास्थ्य मापदण्ड पालना गरेर भोजन सेवा सञ्चालन गर्न सामाजिक संघ संस्थालाई अनुरोध छ । यस कार्यमा काठमाडौ महानगरपालिका तथा वडा कार्यालयवाट आवश्यक समन्वय तथा सहयोग हुनेछ ।’
पहिले सार्वजनिक यातायात नचल्दा सार्वजनिक स्थानमा भोजन सेवा शुरू गरे पनि अहिले सार्वजनिक यातायातका कारण भीडभाड बढेको र स्वास्थ्य मापदण्ड कार्यान्वयनमा समस्या भएकाले सार्वजनिक स्थानमा भोजन सेवा बन्द गरिएको महानगरले सूचनामा उल्लेख गरेको छ ।
काठमाडौ महानगरपालिकाको घोषित नीति ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ र ‘काठमाडौ मानवियताको नगर’ अनुरुप आफ्नो स्रोत, साधन र सामाथ्र्यले भ्याएसम्म राहत वितरण, सामुहिक भोजन सेवा, संक्रमण नियन्त्रण तथा रोकथामका कार्यहरु संचालन गर्दै आएको प्रवक्ता डंगोलले बताए ।
प्रतिक्रिया दिनुहोस