aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

नेकपाका दाहल र ओलीबीच झगडा उत्कर्षमा

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शनिबार, २९ कार्तिक २०७७
नेकपाका दाहल र ओलीबीच झगडा उत्कर्षमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीएकताको अढाई वर्ष नपुग्दै एकअर्काविरुद्ध प्रहार गरेर राजनीतिक दस्तावेज प्रस्तुत भएको छ। कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले पार्टीको संगठन सिद्धान्त र पद्धतिमाथि प्रहार गरेको आरोप लगाउँदै सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

बैठकको सुरुमै दाहालले छुट्टै राजनीतिक प्रतिवेदन पेस गरेर ओलीमा व्यक्तिवादी, एकाधिकारवादी र गुटवादी सोच रहेको आरोप लगाएका छन्। उनले पार्टी र सरकारका सम्बन्धमा तालमेल र समन्वयको अभाव रहेको जनाएका छन्। ‘पार्टीले आफ्नै सरकारलाई र सरकारले आफ्नै पार्टीलाई सहयोग नगर्ने प्रवृत्ति बढ्दो छ। हाम्रो आजको संवैधानिक र राजनीतिक व्यवस्थाअन्तर्गत पार्टीले सत्ता चलाउने सैद्धान्तिक प्रश्नको व्यावहारिक निरुपण हुन सकिरहेको छैन। 

यथार्थमा आज पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने जस्तो उल्टो व्यवहार भइरहेको छ’, उनको प्रतिवेदनमा उल्लेख छ, ‘वाम गठबन्धन र कम्युनिस्ट एकताबाट अत्तालिएका देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु हाम्रो यो स्थितिबाट हौसिँदै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताका विरुद्ध तथा हाम्रो पार्टी र कम्युनिस्ट आन्दोलनका विरुद्ध आफ्नो षड्यन्त्रलाई नयाँनयाँ रुपमा अगाडि बढाइरहेका छन्। आफ्नो रणनीतिलाई अगाडि बढाउने सन्दर्भमा हालै विभिन्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको बीचमा भएको सामरिक र अन्य सम्झौताले हाम्रो राष्ट्रिय स्वतन्त्रता र स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीतिको अगाडि नयाँ चुनौती थपिएका छन्।’

दाहालको प्रतिवेदनमा संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र एवं नेपाल कम्युनिस्ट पार्टीका अगाडि निकै नै गम्भीर समस्या खडा गरेको उल्लेख छ। ‘यी गम्भीर र जटिल समस्याको सामना अब ससाना प्राविधिक जोडघटाउ वा पदीय भागबन्डाबाट गर्नु असम्भव छ। यसका निमित्त वैचारिक–राजनीतिक कार्यदिशा, संगठनात्मक विधि–पद्धति र कम्युनिस्ट आचरणका बारेमा गम्भीर समीक्षासहित समुचित निकास खोज्नु अनिवार्य छ’, उनले भनेका छन्। उनका अनुसार ओली दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहित गर्ने, नवउदारवादी पुँजीवादलाई पछ्याउने व्यक्ति हो। ‘व्यवहारतः उहाँ (ओली) ले दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहित गर्ने नवउदारवादी पुँजीवादलाई नै पछ्याइरहनुभएको छ’, दाहालले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस