
काठमाडौं । आफ्नै नातेदारको हत्यामा दोषी ठहरिएर १२ वर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । उदयपुरको बसाहा ७, बैकडाँडाका दाहालले मोरङ, बबियाबिर्ता ३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेका थिए । उनलाई जुवेलस्थित हायल जेलमा राखिएको छ ।
सार्वजनिक कानुनअनुसार मृत्युदण्डको फैसला सुनाएको तल्लो तहको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको हो । अदालतले पीडित पक्षलाई नीजि अधिकारसम्बन्धी कानुन प्रयोग गर्न दिन अस्वीकार गरेको छ ।
दाहालको जीवन बचाउन रियादस्थित नेपाली दूतावासले नीजि कानुनअनुसार पीडित पक्षलाई ब्लडमनी रकम दिई माफी दिन अदालतसमक्ष अनुरोध गरेको थियो । पुनरावेदनका तीन न्यायाधीशको संयुक्त इजलासले मृत्युदण्डको फैसला सुनाएको हो । 'दुई जना न्यायाधीश मृत्युदण्ड नै दिनुपर्नेमा मतमा उभिए । एक जना न्यायाधीश नीजि कानुनअनुसार पीडित परिवारलाई फैसला गर्न दिनुपर्ने पक्षमा उभिएका थिए,' साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने, 'पुनरावेदनले मृत्युदण्डको सजाय नै तोक्यो ।'
दाहाल, विष्ट र एक जना सुडानी जुवेलको मरुभूमिमा ऊँट गोठाला थिए । विष्ट दाहालका नातेदार हुन् । विष्ट र सुडानी राति सुतिरहेका बेला दाहालबाट आक्रमण भएको मिसिलमा उल्लेख छ । 'आक्रमण हुनेविक्तिकै विष्टको ज्यान गयो । सुडानी घाइते भए,' राजपुतले भने, 'प्रतिकार नै गर्न नसक्ने अवस्थामा हत्या गरेको हुँदा अदालत पीडितको पक्षमा देखिएन ।'
पीडित पक्षले पीडकलाई माफी दिईसकेको पत्र दूतावासले अदालतलाई बुझाएको थियो । 'यो केसमा न्यायाधीशले निजी कानुनभन्दा बढी सार्वजनिक कानुनअनुसार फैसला गरेको देखियो,' उनले भने ।
दूतावासले पुनरावेदन अदालतको फैसला चित्त नबुझेपछि सर्वोच्च अदालतमा निवेदन दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले झन्डै १३ वर्ष जेलमा बसिसकेको र पीडित पक्षले माफी दिइसकेको हुँदा दाहाललाई माफी दिन साउदी राजासमक्ष पत्र पठाइसकेकी छन् । 'हामीले राष्ट्रपतिको पत्र साउदीको परराष्ट्र मन्त्रालयमा बुझाइसकेका छौं,' उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस